गजल

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ जेष्ठ २, विहिबार

सुदर्शन अधिकारी

तिमी आउँछौ भनेर मनले छक्याइरह्यो
तिम्रो याद आउनु थियो, आइरह्यो

म यसकारण रातभर सुत्न नसकेको हुँ
आफ्नै छाति आफैंलाई बिझाइरह्यो

छोरो मरेको दिन पनि त्यो सर्कसको मान्छे
आफू रोइरह्यो, दुनियाँ हँसाइरह्यो

कसैको आवाज पनि सुन्न सकेनन् यी कानले
कसको मौनता कानभित्रै कराइरह्यो

वृद्धाश्रमको बाहिर निस्केर आमा यसो भन्छिन्-
'छोरोले यही सडकमा गाडी गुडाइरह्यो'।

सुदर्शन अधिकारी
नुवाकोट, रातमाटे