“शून्य प्रहरको साक्षी” माथी अन्तरसंवाद

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन १५, बुधबार

“शून्य प्रहरको साक्षी”


इलाममा पुख्र्यौली थलो भएर राजधानीमा कर्म गरिरहेका समालोचक महेश पौड्यालको कविता सङ्ग्रह “शून्य प्रहरको साक्षी” माथी अन्तरसंवाद गरिएको छ ।
    नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा कविता सङ्ग्रह र त्यसभित्र रहेका कविताको विषयवस्तु र भावमाथी चर्चापरिचर्चा गरिएको थियो । कविता सङ्ग्रहको नामले नै कौतुहलता प्रदान गर्ने र भित्रि गहिराईमा पुराउन पाठकलाई वाध्य बनाउने टिप्पणीकर्ता रामप्रसाद चालिसेले बताउनुभएको छ । थोरै शव्दहरुबाट सिर्जित कविताहरुले धेरै परिवेषलाई विशाल भाव दिन हरेक कविता सक्षम भएको चालिसेले बताउनुभएको छ ।
    यस्तै अर्का टिप्पणी कर्ता मुकुन्दराज अर्यालले राष्ट्रियता भाव, र सृङ्गारिक रस उक्त कविता सङ्ग्रहमा भेट्न मुस्किल पर्ने बताउनुभएको छ । देशको ऐतिहासिक, प्राकृतिक, सास्कृतिक जस्ता पक्ष समेटिएको कविता  उक्त सङ्ग्रहमा समेटिएको भए झनै बलियो हुने तर्क गर्नुभएको छ ।
    “शून्य प्रहरको साक्षी” का लेखक पौड्यालले भएभरको शव्द समेटेर कवितालाई लम्याउनु भनेको ‘कविताको नाममा शव्दको हत्या गर्नु हो’ भन्नुभएको छ  । कवितालाई अनावस्यक लम्बाएर पाठकको मन जित्न नसकिने उहाँले बताउनुभएको छ । “छोटा कवितालाई चटनी मान्दा हुन्छ । हामी वारम्वार सम्झिरहन्छौँ र गुनगुनाइरहन्छौँ पनि,” पौड्यालले भन्नुभयो, “राजनैतिक, सामाजिक, आर्थिक जस्ता विषयहरुले ठूलो इतिहास रच्यो । त्यसमा राष्ट्रिय स्वभाव पाइदैन तर नेपाली भाषा र साहित्यमा राष्ट्रिय स्वभाव पाउछौँ ।”
    कार्यक्रममा जानुका दाहाल, राजकुमार आचार्य, श्रीधर पाण्डे, शिवशुन्दर पुडासैनी, तुलध्वज खतिवडा लगायतले उक्त सङ्ग्रहको दुईदुई वटा कविता बाचन गरेका थिए ।
    कार्यक्रममा साहित्यकार शम्भूप्रसाद शर्मा, प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेल, सल्लाहकार श्रीराम श्रेष्ठ लगायतले उक्त कविता सङ्ग्रहले कविताको सवालमा नयाँपन  दिएको बताएका छन् ।