बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै सचेतन सामुदायिक सिकाई केन्द्र

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ अश्विन २९, बुधबार

सचेतन सामुदायिक सिकाई केन्द्र

‘सचेत रहि अगाडी बढौँ, सचेतन समाजको निर्माण गरौँ’ भन्ने नारा सहित सचेतन सामुदायिक सिकाई केन्द्र विदुरले बेरोजगार युवाहरुलाई विभिन्न किसिमका सिप प्रदान गरेर क्षमता अभिवृद्धि गराइरहेको छ । 
    यसैक्रममा केन्द्रले आयोजना गरेको आधारभूत ३ महिने सिलाई कटाई तालिम मंगलबार समापन भएको छ । तालिमले सिप प्रदान गरेर भविष्यमा केही गर्छु भन्ने आट प्राप्त भएको विदुर नगरपालिका –२ की सिर्जना मिजारले बताउनुभभएको छ । उहाँले नियमित तीन महिना तालिममा सहभागि भएर उत्कृष्ट सिप सिक्नुभएको भन्दै केन्द्रले सम्मान समेत गरेको छ ।
       सचेतन सामुदायिक किसाई केन्द्र विदुरले साक्षरता अभियानलाई प्रबद्धन गर्न प्रौढ शिक्षा सञ्चालन, पुस्तकालय एंव सूचना तथा सञ्चारलाई बैज्ञानिकरुपमा स्तरउन्नती गर्दै आइरहेको थियो । केही समय यता केन्द्रले सिलाई कटाई तालिमलाई प्राथमिकता दिदै आएको छ । यस अघि पनि दुई चरणमा गरेर १ सय ११ जनाले तीन महिने आधारभूत सिलाइकटाई तालिम लिइसकेका छन् । मंगलबार समापन भएको तालिममा ६० जना प्रशिक्षार्थी हरुको सहभागिता रहेको थियो । 
    समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले तालिम औपचारिकतामा मात्रै सिमित हुने देखिएकोले त्यसलाई चिर्दै व्यवसायमा लाग्न तालिमका सहभागिहरुलाई आग्रह गर्नुभएको छ । तालिमा गरिने लगानी, मेहनत र समयको सहि सदुपयोग गर्न सके मात्र परिवार र समाजको आर्थिक स्थिति सुधारिने उहाँले बताउनुभएको  छ । 
    यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले केन्द्र मार्फत तालिम लिएकाहरु अहिले कहाँ के गर्दैछन् त त्यसको बारेमा समयसमयमा जानकारी लिनुपर्ने बताउनुभएको छ । उद्योगीहरुले निर्माण गरेको सामाग्रीले बजार नपाएर समस्या भइरहेको भए सम्वन्धित संघसस्था र स्थानीय तहले बजारको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । 
    सिमित श्रोत साधनबाट बेरोजगार युवाहरुलाई सिप प्रदान गर्न केन्द्र तल्लिन रहेकोले सिपको सहि रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई सचेतन सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पशुपती कोइरालाले आग्रह गर्नुभएको छ । प्रशिक्षार्थीहरुलाई तालिम पश्चात एकएक वटा लुगा सिलाउने मेसिन लिने मनसाय भए पनि आर्थिक समस्याले गर्दा सोच अपुरो रहेको बताउनुभएको छ । 
    विसं २०५६ सालदेखि अहिलेसम्म आइपुग्दा समाज सचेतन केन्द्रले कपडा बुनाई, विभिन्न साङ्गितिक क्रियाकलापमा प्रतिष्पर्धा गराउदै सिलाई कटाई तालिमलाई निरन्तरता दिदै आएको छ । समाज सचेतन केन्द्रले बुधबारदेखि ३३ जनाको लागि आधारूत एवं स्पेशल ४ महिने सिलाइ कटाई तालिम सञ्चालन गरिने केन्द्रका अध्यक्ष यमकुमार खातीले जानकारी दिनुभएको छ । विदुरमा आफ्नै भवन मार्फत सञ्चालनमा रहेको केन्द्रले एकै पटकमा ३३ जना सहभागी भएर दक्ष र आफै व्यवसाय सञ्चालन गर्न सक्ने कालीगढको रुपमा उत्पादन गरिने विश्वास लिएको  खातीले लिनुभएको छ ।