कल्याणपुर एथ्लेटिक्स ट्रेनिङ सेन्टरबाट आयोजित दौड प्रतियोगिता सम्पन्न

प्रकाश खनाल
प्रकाश खनाल

२०७६ कार्तिक १७, आईतबार

कल्याणपुर एथ्लेटिक्स ट्रेनिङ सेन्टर

पर्यटन वर्ष २०२० सफल पारौँ भन्ने मुल नारा सहित कल्याणपुर एथ्लेटिक्स ट्रेनिङ सेन्टरले दौड प्रतियोगिता गरेको छ ।
    विदुर नगरपालिका वडा नम्बर १३ कागुने बजारमा आयोजित उक्त प्रतियोगितामा पुरुष महिला र जेष्ठ नागरिक बिच समूहलाई छुट्टाछुट्टै प्रतिष्पर्धा गराइएको थियो । दौड प्रतियोगितामा तीन वटै समूहलाई समान १२ किलोमिटर दुरी कायम गरिएको थियो । जसमा पुरुष तर्फ भएको प्रतियोगितामा अजेश राईले उक्त दुरी ५९ मिनेट ३५ सेकेण्डमा पार गरी प्रथम हुनुभएको छ । यस्तै सामरीका प्रकास तामाङले १ घण्टा ५६ सेकेण्डमा १२ किलोमिटर दुरी पार गरी द्धीतिय र कल्याणपुरका साजन तामाङ तृतीय हुनुभएको छ । उहाँले निर्धारित दुरी १ घण्टा ५७ सेकेण्डमा पार गर्नुभएको थियो । 
    प्रथम, द्धीतिय र तृतीयलाई क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
    यस्तै जेष्ठ नागरिक तर्फ भएको प्रतियोगितामा नवराज कार्की प्रथम, रामकुमार खड्का द्धीतिय र रामबहादुर तामाङ तृतीय भएका छन् । आयोजकले निर्धारण गरेको १२ किलोमिटर दुरी कार्कीले १ घण्टा १५ मिनेट ३६ सेकेण्डमा, खड्काले १ घण्टा २१ मिनेट २१ सेकेण्डमा र तामाङले १ घण्टा २१ मिनेट २९ सेकेण्डमा पार गरेका थिए । उनीहरुलाई समान २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको कार्यक्रमका संयोजक विष्णु  तामाङले जानकारी दिनुभएको छ ।
    यस्तै महिलातर्फ भएको प्रतियोगितामा चौघडाकी दिपशिखा राईले १२ किलोमिटर १ घण्टा १६ मिनेट १ सेकेण्डमा पार गरी प्रथम स्थान हासिल गर्नुभएको छ । विदुर १३ की सपना तामाङले उक्त दुरी  १ घण्टा १९ मिनेट २ सेकण्डमा पार गरी द्धितीय हुनुभएको छ भने  शुस्मा रिसाल तृतीय हुनुभएको छ । रिसालले १ घण्टा २५ मिनेट २३ सेकेण्डमा १२ किलोमिटर दुरी पार गर्नुएको थियो । प्रथम, द्धितीय र तृतीयलाई क्रमश ४ हजार, ३ हजार र २ हजार रुपैयाँ सहित प्रमाण पत्र वितरण गरिएको कार्यक्रम संयोजक तामाङले जानकारी दिनुभएको छ ।

दौड प्रतियोगितामा अन्तराष्ट्रिय धावक बैकुण्ठ मानन्धरले स्थानिय स्तरमा नै प्रतिष्पर्धात्मक कार्यक्रम गर्न सकेमा इच्छुकहरुलाई प्रतिभा प्रष्फुटनको माध्यम  बन्ने बताउनुभएको छ । स्थानीय तहहरुले पनि खेलमा विशेष चासो दिएको खण्डमा नुवाकोटका खेलाडीहरुले भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहभागी हुन अवसर प्राप्त हुने उहाँले बताउनुभएको छ ।
    कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ लगायतकाको सहभागिता रहेको थियो ।