बितलबमा सुविधा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७६ कार्तिक २७, बुधबार

बितलबमा  सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ बितलबमा सुविधा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । 
      सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्नुहुदै लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठले नेपाल सरकारले निशुल्क उपलव्ध गराउने सबै औषधी  गाउँपालिकाभित्र रहेका स्वास्थ्य सस्थामा अभाव हुन नदिने बताउनुभएको छ । औषधी र स्वास्थ्य कर्मीको अभावले स्थानीय नागरिकले स्वास्थ्य उपचार पाउनबाट बन्चित नहोस् भन्ने विषयमा गाउँपालिका गम्भिर रहेको उहाँले बताउनुभएको छ । उहाँले स्वास्थ्यको दृष्टिकोणले लिखु गाउँपालिकालाई नमुना बनाउन लागि परेको समेत गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । 
      सुविधा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण गर्न स्थानीय भगवती पाण्डेले निशुल्क जग्गा उपलव्ध गराउनुभए पनि भवन निर्माणको कार्य  प्रक्रियामा नै रहेको छ । सुविधा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गर्दा हुने खर्च गाउँपालिकाले व्यहोर्ने गरी सञ्चालनमा ल्याइएको हो । दाताबाट उपलव्ध भएको जग्गामा स्वास्थ्य इकाईको भवन निर्माण गरेर स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलव्ध गराउने वडा नम्बर ६ का वडा अध्यक्ष हरीशरण लामिछानेले जानकारी दिनुभएको छ । 
    लिखु गाउँपालिकाको वडा नम्बर ६ मा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भए सँगै ६ वटै वडाका नागरिकहरुले आफ्नै वडाबाट स्वास्थ्य सुविधा प्राप्त गर्न पाउने भएका छन् । गाउँपालिकामा यस अघि नेपाल सरकारबाट सञ्चालित खानीगाउँ स्वास्थ्य चौकी, चौघडा स्वास्थ्य चौकी र सूर्यमती स्वास्थ्य चौकी मात्र रहेको थियो । गत आर्थिक वर्षमा गाउँपालिकाले वडा नम्बर २ मा बगरबजार सामुदायिक स्वास्थ्य इकाइ र वडा नम्बर ५ मा थानसिङ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भिमबहादुर रोक्काले बताउनुभएको छ ।