सातविसे महिला कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन

रविन दाहाल
रविन दाहाल

२०७६ कार्तिक ३०, शनिबार

  सातविसे महिला कृषि सहकारी संस्था लिमिटेड

नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले सहकारी सस्थाहरुलाई आर्थिक पक्षलाई बलियो बनाउन भन्दा पनि शेयर सदस्यहरुलाई व्यवसायिक बनाउन  पहल गर्नुपर्ने बताउनुभएको छ ।
तादी गाउँपालिका वडा नम्बर ४ सातविसेमा रहेको श्री सातविसे महिला कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा नवनिर्मित भवनको उद्घाटन गर्नुहुदै सांसद तामाङले शेयर सदस्यहरुबाट सङ्कलन भएको पूंजीलाई सहि रुपमा सदुपयोग गरी स्वरोजगारको कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले सिंहदरबारको रुपमा स्थानीय सरकार गाउँमा रहेकोले सहकार्य र समन्वय गर्दै जोखिम न्यूनिकरणको लागि पहल गर्न समेत सहकारीका शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको छ । 

 

  सातविसे महिला कृषि सहकारी संस्था लिमिटेड

यस्तै गाउँपालिकाकाअध्यक्ष नारायणबहादुर पाण्डेले सहकारीकोको नाममा भवन मात्र बनेकोले त्यसलाई व्यवस्थापन गर्न आवस्यक फर्निचर तथा कम्प्युटर खरिद गर्न गाउँपालिकाको तर्फबाट आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष पाण्डेले तत्काल सहकारीलाई ५० हजार रुपैयाँ उपलव्ध गराउने बताउनुभएको छ । उहाँले लक्षित वर्गको लागि भनेर गाउँपालिकाले बजेट विनियोजन गरेकोले सहकारीलाई आत्मनिर्भर बनाउन गाउँपालिकासँग सहकार्य गर्न आग्रह गर्नुभएको छ । 
    विसं २०७३ सालमा स्थापना भएको श्री सातविसे महिला कृषि सहकारी संस्था लिमिटेडको शेयर सदस्य १ सय ९१ जना रहेको छ । सहकारीको शेयर पूजी २ लाख ७ हजार रुपैयाँ रहेको सहकारीका अध्यक्ष पार्वती पण्डितले जानकारी दिनुभएको छ ।
वल्र्ड रिन्यू नामक सस्थाको आर्थिक सहयोग र नारी जागरण समाजको सहकार्यमा निर्माण गरिएको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । सहकारीको भवन बनाउदा ३० लाख रुपैयाँ लगानी गरिएको सहकारीका अध्यक्ष पण्डितले जानकारी दिनुभएको छ । महिलाहरु मात्र आवद्ध भएर सञ्चालन गरिएको सहकारी तादी गाउँपालिकामा यो मात्र रहेको छ । सहकारीलाई आगामी दिनमा नुवाकोट क्षेत्र नम्बर १ भित्र पर्ने ७ वटै स्थानीय तहमा रहेका महिलाहरुलाई सहभागी गराउने लक्ष्य रहेको अध्यक्ष पण्डितले बताउनुभएको छ ।