कोरोनाको पीडा जारी रहदै एकल महिला र अपांगताभएकालाई सरकारले रुवाउदै 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ १०, शनिबार

एकल महिला र अपांगता

कोरोनाभाइरस महामारीले प्रभावित पारेको समयमा राहत र सहयोगका थप कार्यक्रम ल्याउनुपर्नेमा सरकारले एकल महिला र अतिअशक्त अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको छ । सरकारले एकल महिला र ख वर्ग अर्थात् अतिअशक्त अपांगता भएका नीलो कार्ड वाहकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको हो । 
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २६ चैत २०७६ मा सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । विभागले आर्थिक वर्ष २०७६÷७७ को अन्तिम चौमासिकको किस्तादेखि नै निर्णय लागू हुने भने अनुसार उनीहरुले चैतदेखिकै भत्ता पाउने छैनन् । सामाजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली २०७६ बमोजिम यो निर्णय गरिएको हो । यस अनुसार अब ६० वर्षमुनिका एकल महिलाले पाउँदै आएको मासिक २ हजार रुपैयाँ र नीलो कार्ड भएका ‘ख’ वर्गका अपांगता भएकाहरुले १६ सय रुपैयाँ चैत महीनादेखि पाउने छैनन्

फाईल तस्विरहरु

एकल महिला र अपांगता


सरकारले ६० वर्षमुनिका एकल महिलाले पाउने भत्ता ‘न्यून आय’ भएकालाई मात्रै दिने भनिएको छ । तर, न्यून आयको परिभाषा तोकिएको छैन । 
नयाँ सूचनामा ‘नेपाल सरकारले न्यून आयको मापदण्ड नतोकुञ्जेल ६० वर्षमुनिका विधवा महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने’ उल्लेख छ । अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटले अडियो विज्ञप्ती जारी गर्दै सरकारको यो निर्णय विरोध गरेको छ । मञ्का जिल्ला सचिव लोचन भट्टराईले जारी गर्नुभएको अडियो विज्ञप्तीमा बाच्ने अधिकारको ग्यारेन्टी गर्न सरकार माग गरिएको छ । अब एकल महिलाले सामाजिक सुरक्षा भत्ता पाउन ६० वर्ष पुग्नुपर्ने भएको छ । कतिपय स्थानीय तहहरुले श्रीमतीको मृत्यु भएका एकल पुरुषलाई समेत भत्ता दिन शुरु गरेका वेला संघीय सरकारले भने एकल महिलालाई भत्ता कटौती गरेको छ । तथ्यांक अनुसार, ६० वर्षमुनिका करीब साढे तीन लाख एकल महिलाले भत्ता बुझ्दै आएको एकल महिला संघका जिल्ला अध्यक्ष देबकी पौडेलले जानकारी दिनुभएको छ ।यस्तै, राष्ट्रिय अपांग महासंघका अनुसार, मासिक १६ सय रुपैयाँ भत्ता लिने नीलो कार्डवाहक अपांगता भएकाहरुको संख्या करीब ७० हजार थियो । 
पूर्ण दृष्टिविहीन, पूर्ण बहिरा, ह्वीलचेयर प्रयोगकर्ता लगायत अतिअशक्तहरुले यस्तो भत्ता पाउँदै आएका थिए ।संघीय सरकारले वर्षौंदेखि दिंदै आएको भत्ता खारेज गरेपछि चौतर्फी विरोध शुरु भएको छ । राष्ट्रिय अपांग महासंघ, नेपाल महिला संघ, अपांगता संगठन नेपाल, एकल महिला समूह लगायत संघसंस्था र राजनीतिक दलहरुले समेत सरकारी निर्णयको विरोध गरेका छन् । ति संस्थाका पदाधिकारीहरुले अहिलेको कोरोनाभाइरस महामारीका वेला थप राहत वा भत्ता दिनुपर्नेमा भत्ता कटौती गरिनु न्यायसंगत नभएको बताइरहेका छन् । राष्ट्रिय अपांगता महासंघ तथा अपांगता भएकाहरुको अधिकारका लागि काम गर्दै आएका संघसंस्थाहरुले विज्ञप्ति जारी गर्दै अरुको सहयोगविना बाँच्न नसक्ने अतिअशक्त अपांगता भएकाहरुको अधिकार खोसिएको जनाएका छन् । 
यो निर्णय अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐनको भावना विपरीत रहेकाले तत्काल निर्णय फिर्ता लिन पनि माग गरिएको छ ।सरकारी निकायले भने भत्ता कटौतीको निर्णय गर्नुको कारण बताएका छैनन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नियमावलीमा आइसकेकाले कार्यान्वयनमा जाने जनाएको छ । 
सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयप्रति नेपाली कांग्रेस संसदीय दलले पनि आपत्ति प्रकट गरेको छ । कोरोनाभाइरस महामारीबाट प्रताडित भइरहेका वेला अतिअशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरुको भत्ता रोकिनु अत्यन्त अमानवीय कार्य भएको भन्दै विज्ञप्तिमा यो निर्णय तत्काल खारेज गर्न कांग्रेसले माग गरेको छ ।

You may also like: