आरडिटी किट भरपर्दो भएन, आधा संक्रमित समाजमै छोडियो ः अनुसन्धान परिषद

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ जेष्ठ ११, आईतबार

आरडिटी किट

फाईल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सरकारी अनुसन्धान परिषद्ले कोभिड १९ पत्ता लगाउन प्रयोग गरिँदै आएको ¥यापिड डाइनोस्टिक किट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई बुझाएको छ । 
स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ पत्ता लगाउन प्रयोग गरिने आरडिटी किटले परीक्षण गर्दा आधा संक्रमितलाई समाजमा छाडेको भन्दै यसबाट परीक्षण गर्न नहुने रायसहितको प्रतिवेदन बुझाएको हो । अनुसन्धानमा आरडिटी किटको पोजेटिभ देखाउने क्षमतामा ५० प्रतिशत मात्रै देखिएको स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । 
त्यसैले परिषद्ले सकेसम्म यस किटको प्रयोग गर्न राम्रो नहुने सुझावसहितको रिपोर्ट बुझाएको हो । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि परीक्षणको दायरा फराकिलो बनाउने भन्दै निजी स्वास्थ्य संस्थाबाट पनि आरडिटी परीक्षण गराउन मिल्ने गरि अन्तरिम निर्देशिकका पास गरिसकेको छ । यहीबीचमा परिषद्ले आरडिटी परीक्षणको परिणाम ठीक नभएको रिपोर्ट बुझाएको हो । यसअघि सरकारले ओम्नी समूह मार्फत चीनबाट ७५ हजार किट खरिद गर्दा विवाद बढेपछि त्यसको प्रभावकारिता जाँच गर्न परिषद्लाई जिम्मा दिइएको थियो । 
आरडिटी किटबाट कोभिड–१९ परीक्षण विश्वका धेरै देशहरुले रोक लगाएका बेला नेपालमा पनि यसको विश्वासनीयतामा प्रश्न उठिरहेको छ । नतिजा नै धेरै जसो गलत दिने किट प्रयोग गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला परिषद् बोलेको हो । 
तर आलोचनाकाबीच मन्त्रिपरिषद्बाट निर्णय गराएर आरडिटी किटबाट कोरोना परीक्षण भइरहेको छ । मन्त्रालयले भने परिषद्ले बुझाएको उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन ।
विश्व स्वास्थ्य संगठनको निर्देशन र परिषद्को निचोड अनुसार आरडिटी किट कोभिड–१९ को निदानमा प्रयोग गर्न नमिल्ने प्रतिवेदनमा स्पष्ट खुलाइएको छ । 
तर, समुदायमा ठूलो संख्यामा एकै पटक संक्रमित पत्ता लगाउन आरडिटी विधिमार्फत परीक्षण गर्न सकिने सुझाव दिइएको छ । निजी अस्पतालहरुलार्ई सरकारले आरडिटीमार्फत कोरोना जाँच गर्न दिने तयारी गरेका बेला अनुसन्धानकर्ताहरुले त्यसो भएमा राज्यले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् । 

You may also like: