संसदमा हितबहादुर तामाङ गर्जिए, राष्ट्रियतामाथी प्रहार हुने एमसिसी प्रति असहमती 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार ५, शुक्रबार

हितबहादुर तामाङ

नुवाकोटबाट निर्वाचित संघिय सांसद हितबहादुर तामाङले बिहिबार संसदमा बोल्दै नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) प्रति असहमती जनाउनुभएको छ । 
एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ । यस्तै सो कार्यक्रमका लागि नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर बजेट उपलब्ध गराएको छ । आयोजनाको प्रमुख कार्यका रूपमा काठमाडौँको नाङ्गलेभारेदेखि बुटवलसम्म ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने रहेको छ । त्यस अन्र्तगत बेलकोटगढी नगरपालिकाको रातमाटेमा स्टेशन तयार हुने छ । 
यस्तै कूल एक सय किलोमिटर लामो सडक पूर्वाधार विकासमा समेत सहयोग उपलब्ध हुनेछ । काम गर्न सहज होस् भनेर नै संघीय संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान रहेको एमसिसीको विषयमा सांसद हितबहादुर तामाङ सकारात्मक देखिनुभएको छैन । राष्ट्रियतामाथी प्रहार हुने उक्त परियोजनाको विषयमा संसदमा छलफल हुनै नपर्ने उहाँको तर्क छ ।

त्यस्तै, नेपालमा पछिल्लो समय हतियारधारीहरुको विगविगी भएको र धार्मिक स्थल अनि ठूला होटलहरुमा आयातित हतियारधारीहरुको बसोवास र आवातजावत बढेको भन्दै उहाँले नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
१६ वर्षअघि स्थापना भएको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संयुक्त राज्य अमेरिकी सरकारको सहयोग निकाय हो । यसले निश्चित परिसूचकका आधारमा विश्वका विकासशील राष्ट्रहरूको छनोट गरी आर्थिक बृद्धिमा टेवा पु¥याउँदै गरिबी हटाउन अनुदान सहायता प्रदान गर्ने उद्देश्य लिएको बताइने गरिएको छ ।
हालसम्म ४९ देशमा एमसीसीको सहयोग छ । अल्बानिया, अरमेनिया, जर्जिया, जस्ता युरोपियन देशका साथै अफ्रिकी मुलुकहरुमा पनि यो कार्यक्रम लागू भइरहेको छ । ल्याटिन अमेरिकाको पेरु, ग्वाटेमाला, गुएनाका साथै एशियाका मंगोलिया, फिलिपिन्स, श्रीलंका, इण्डोनेसिया आदि देश पनि यसमा अनुबन्धित छन् । एमसीसीको बोर्ड अफ डाइरेक्टरको साढे तीन वर्ष अघि बसेको बैठकले नेपाललाई लगभग ५० अर्बको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको थियो । 
यसैअनुसार एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ गते ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट’ सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतामा तात्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी एमसीसी कार्यक्रमका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता बमोजिम अमेरिकी सरकारले ५०० मिलियन अमेरिकी डलर अनुदानस्वरूप उपलब्ध गराउने र नेपाल सरकारका तर्फबाट १ सय ३० मिलियन अमेरिकी डलर बराबरको रकम कार्यक्रमका लागि विनियोजन गर्नुपर्नेछ व्यवस्था छ । नेपालले उक्त रकम ऊर्जा र यातायात विकासका पूर्वाधारका क्षेत्रमा खर्च गर्नुपर्नेछ । जसमा सम्झौता लागू भएको मितिबाट ५ वर्षमा परिचालन गरी सक्नुपर्नेछ ।

You may also like: