सलह किरा नुवाकोटमा पनि देखाप¥यो, नआत्तिन तर सचेत रहन कृषकहरुलाई सुझाव 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ असार १६, मंगलबार

सलह  किरा

शनिबार नेपाल प्रवेश गरेको सलह नुवाकोटमा पनि देखा परेको छ । सोमबार विदुर, पिपल्टार, कोल्पुटार र बट्टारमा सलह देखापरेको कृषि ज्ञान केन्द्र नुवाकोटले जनाएको छ । 
सोमबार विहान रेडियो त्रिशुलीको स्टुडियोमा फेला परेको किरालाई कृषि ज्ञान केन्द्रमा लगेर परीक्षण गर्दा सलह रहेको पुष्टि भएको हो । त्यसपछि पिपल्टार, कोल्पुटार र बट्टारबाट पनि सलह भेटिएको जानकारी कृषि ज्ञान केन्द्रलाई आएको छ । नुवाकोट भित्रिएको सलह भने फाट्टफुट्ट मात्रै देखिएको छ । एक दुईको संख्यामा मात्रै फेला परेको सलहको झुण्ड भने नुवाकोट नभित्रिसकेको कृषि ज्ञान केन्द्र नुवाकोटका बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले जानकारी दिनुभएको छ ।  
मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुण्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् । मकै थन्काउने क्रम अन्तिम भएकोले तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथाशीघ्र काट्न, रोपाइँ भइरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका बेर्ना जोगाउन कृषि ज्ञान केन्द्र नुवाकोटका बाली संरक्षण अधिकृत एलिजा श्रेष्ठले कृषकलाई अपिल गर्नुभएको छ । 
नुवाकोटमा देखापरेको सलहका कारण कृषकलाई हुने जोखिमको बारेमा र यसबाट जोगिने उपायाहरुको बारेमा सललाह सुझाव लिनपरेमा कृषि ज्ञानकेन्द्रमा सम्पर्क गर्नुहुन पनि कृषकहरलाई उहाँले आग्रह गर्नुभएको छ ।   

सलह  किरा

ठुलो झुण्डमा आएको सलह सोमबार भने नेपालको बर्दिया पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ बगैपुरको धान खेतमा सलह देखिएको हो । प्रदेश २ का सर्लाही, बारा र पर्सा, प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँची र दाङ, गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिसकेको छ । सलह आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् । अफ्रिकी देशबाट पाकिस्तान र भारत  हुँदै नेपालसम्म पसेको  सलह किरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने गरेको छ ।
नुवाकोटमा सलह ठूलो संख्यामा भित्रिहालेमा धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न सकिने बताइएको छ । सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ । सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । विज्ञहरुका अनुसार मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने छ ।

You may also like: