नुवाकोटमा कोभिड–१९को खर्च पारदर्शी भएन, सार्वजनिक गराउ : संकट ब्यबस्थापन केन्द्र

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण १४, बुधबार

 कोभिड–१९को खर्च पारदर्शी भएन

विश्वमहामारी रुपमा फैलिरहेको कोभिड–१९ नियन्त्रणका लागि नुवाकोटमा भइरहेको र भईसकेको खर्चको विषयमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । 
स्थानीय सरकारदेखि गैर सरकारी निकाय र सरकारी कार्यालयहरुले कोभिड–१९ को शिर्षकमा अहिलेसम्म गरेको खर्चलाई नागरिक समक्ष ल्याउनु पर्ने भएको छ । सार्वजनिक खरिद ऐन देखिका धेरै आर्थिक प्रक्रिया अपनाउन नपर्ने विशेष परिस्थितिमा भएको र भईरहेको कोभिड–१९ को खर्चमा नागरिकहरुले शंका व्यक्त गरेपछि यस्तो निर्णय भएको हो
सोमबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले कोरोना भाइरस नियन्त्रणका नाममा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गराउने निर्णय भएको हो । संघीय, प्रदेश र स्थानीय सरकार मातहातका सबै सरकारी कार्यालय, गैर सरकारी संस्थाहरुले खर्च विवरण सार्वजनिक गर्नुपर्ने छ । 
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार यो सिएमसीको बैठकको निर्णय सबै तह र कार्यालयले अनिवार्य पालना गर्नुपर्ने छ । बैठकको निर्णय अनुसार कोभिड–१९ को खर्च विवरण सार्वजनिक गर्न नचाहाने र गर्न नसक्ने निकाय र कार्यालयमा जिल्ला प्रशासनले हस्तक्षेप गर्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो । सबै गतिविधिहरु जनताले प्रष्ट थाहा पाउनुपर्ने आफ्नो अभियान पनि रहेको र  कोभिड–१९ को नाममा ब्रम्हलुट भएको भन्दै नागरिकहरुले गुनासो गरेपछि यो निर्णय भएको उहाँको भनाई छ । 
नुवाकोटमा कोभिड–१९ नियन्त्रणका लागि सरकारले दिएको विशेष सुविधालाई केही स्थानीय तह र सरकारी कार्यालयले दुरुपयोग गरेको गुनासो नागरिकस्तरबाट आइरहेको छ । आफु अनुकुलको काम गर्न र सरकारी रकम मास्नका लागि कोरोनासंग सम्वन्धित गराएर सोही शिर्षकबाट अनियन्त्रित खर्च गराउँदै आएको गुनासो छ । यसरी आफ्नो स्थानीय सरकारले गरेको खर्चको बारेमा चित्त नबुझेमा वा भनिएको र देखिएको भन्दा फरक अनि अपारदर्शी क्रियाकलाप भएको जस्तो मात्रै लागेमा पनि तत्कालै खबर गर्न नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 
यसैबीच, कोभिड–१९ का कारण बन्द हुनुपरेको नुवाकोटमा होटल तथा पर्यटन क्षेत्र साउन १५ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । तर यो निर्णय भन्दा पहिला नै नुवाकोटमा प्रायः सबै होटल व्यवसायहरु सञ्चालनमा आइसकेका छन् । सरकारी तवरबाट औपचारिकता दिनका लागि मात्रै यो निर्णय देखिएको छ । 
बैठकले जिल्लास्थित होटल रेष्टुरेण्ट तथा ट्रेकिङ ट्राभल पर्वतारोण लगायतका पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा हालसम्म भएका प्रयासको समीक्षा गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्ने गरी होटल तथा पर्यटन क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो । 
यस्तै, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी छोटो, मध्यम र लामो दुरीका जिल्लाभित्र तथा अन्तर जिल्लामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा आउने छ । 
भदौ १ गतेदेखि नै जिल्लाका विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षाहरु सञ्चालनमा ल्याउन दिने पनि निर्णय भएको छ । तर नुवाकोटका लगभग सबै जसो विद्यालयहरुले आन्तरिक रुपमा यस अघिनै खुसुखुसु भर्ना गरिसकेका छन् । केही निजी विद्यालयहरुले भने ‘आउट ड्रेस’मा तीन सात अघिदेखि विद्यार्थीलाई स्कुलमै उपस्थित गराएर पढाईरहेको छ । 
सरकारले तोकेको मापदण्डअनुसार खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल सञ्चालन गर्न समेत पाउने निर्णय पनि जिल्ला संकट ब्यबस्थापन केन्द्रले गरेको छ ।
 

You may also like: