पत्रकार महासंघ नुवाकोटद्धारा सञ्चारगृह र पत्रकारहरुलाई कदर पत्रद्धारा सम्मान गरिदै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ श्रावण २१, बुधबार

पत्रकार महासंघ नुवाकोट

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको मंगलबार सम्पन्न कार्य समिति बैठकले समुदायस्तरमा देखिएको संक्रमणबाट सुरक्षित हुनका लागि स्थानीय स्तरमै केही दिनका लागि बन्दाबन्दी गर्ने वा जिल्ला शिल गर्ने विषयमा बहश चलाउन र यस तर्फ बिचार बिमर्श थाल्न सरोकार सबैमा आग्रह गरेको छ । 
जिल्ला अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा सम्पन्न बैठकले विश्व महामारी कोभिड–१९ को वर्तमान अवस्था र यसबाट नागरिकहरुलाई सुरक्षित राख्नका लागि नुवाकोटमा भइरकेको प्रयास र कार्यहरुको समीक्षा भएको छ । सार्वजनिक यातायातका साधन सञ्चालनमा स्वास्थ्य सावधानी नअपाइएको विषयमा सुक्ष्म अगुमन गरि कार्यान्वयनमा ल्याउन र मास्क प्रयोग गर्न भुली हिडडुल गर्ने नागरिकहरुलाई आर्थिक जरिवान नर्गन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई पत्रकार महासंघले आग्रह गरेको छ । जरिवानाको सट्टामा नागरिकहरुलाई मास्क उपलब्ध गराउने पर्ने महासंघको आग्रह छ । 
यसैबीच, विश्व महामारी कोभिड–१९ र यसका कारण भएको बन्दाबन्दीको असर र प्रभाव नुवाकोटका सञ्चार गृहहरु र पत्रकारलाई के कस्तो परेको छ त्यसको अनुगमन र विश्लेषण गर्न एक समिति गठन भएको छ । पत्रकार महासंघ बागमती प्रदेश कार्य समिति सदस्य रामहरि गजुरेलको संयोजकत्वमा तीन सदस्यिय समिति गठन गर्ने भएको हो । समितिका सदस्यहरुमा नुवाकोट शाखाका सचिव जगदीश खनाल र कोषाध्यक्ष सुनिल विष्ट हुनुहुन्छ । 
मानव इतिहासनै कठिन मोडमा पु¥याएको विश्व महामारी कोभिड–१९ (नोबेल कोराना भाइरस) का कारण सृजित संकटग्रस्त अवस्थामा समुदायको स्वास्थ्य सुरक्षा र कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सक्रिय रहेका नुवाकोट जिल्लाका सञ्चार गृह र पत्रकारहरुलाई पत्रकार महासंघ नुवाकोटले कदर गर्ने भएको छ । बन्दाबन्दीको समय र त्यसपछिपनि निरन्तर रुपमा गरिरहेको सूचना दिने कार्यले नुवाकोटका नागरिकहरुलाई ठूलो सहयोग मिलेको र त्यसका लागि पत्रकारहरुले लिएको जोखिमको महासंघले प्रशंसा गरेको छ । 
यसरी कोभिड–१९ को बखतमा विशेष भूमीका खेल्दै नागरिकहरुलाई सूसूचित गर्ने आठ जना पत्रकारहरुलाई कदर पत्र प्रदान गरेर पत्रकार महासंघले सम्मानित गर्ने भएको छ । जसमा त्रिशुली प्रबाह साप्ताहिकका सम्पादक एवं प्रकाशक शरण उत्सुक सापकोटा, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, डवली खबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका नुवाकोट समाचारदाता रामहरि गजुरेल, रेडियो नेपालका नुवाकोट संवाददाता भोलाराज पौडेल, एभिन्युज खबर टिभिका जिल्ला संवाददाता श्रीराम नेपाल, राससका नुवाकोट संवाददाता जमुना गजुरेल, र नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेब दाहाल हुनुहुन्छ । 
यस्तै पत्रकार महासंघ नुवाकोटले अन्य ११ वटा सञ्चार माध्यामहरुले अहिलेको अवस्थामा सूचना प्रदान गर्न र नागरिकहरुलाई सुरक्षित राख्नका लागि विशेष भूमिका खेलेको भन्दै प्रशंसा गरेको छ । जसमा रेडियो जालपा, रेडियो त्रिशुली, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जीवनी, गज्जवको रेडियो, उत्तरगया दैनिक, त्रिशुली खबर साप्ताहिक, नुवाकोट न्युज डटकम, नुवाकोट एक्सप्रेस डटकम, विदुर खबर डटकम र त्रिशुली पोष्ट डटकम रहेको छ ।