सुझाव पेटिका मार्फत प्रहरी बिरुद्ध लिखित उजुरी 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन १, विहिबार

 प्रहरी बिरुद्ध लिखित उजुरी 

प्रहरीको विषयमा अब सिधै लिखित गुनासो वा उजुरी दिन सकिने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले २८ वटा स्थानीय तहमा प्रहरीको विषयमा उजुरी लिनका लागि सुझाव पेटिका राखेको छ । प्रहरीको विषयमा प्रहरीसंग गुनासो गर्न र उजुरी गर्न नागरिकहरुलाई अप्ठ्यारो परेकोले यो कार्यक्रमको सुरुवात भएको हो । बागमती प्रदेश अन्तर्गतका २८ वटा स्थानीय तहमा प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासो तथा सुझाव संकलनको लागि गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ । 
प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीहरुबाट सम्पादन भएका काम कारबाहीको सम्बन्धमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी सल्लाह सुझाव अनुरुप प्रहरी सेबालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो । 

 प्रहरी बिरुद्ध लिखित उजुरी 


नुवाकोट जिल्लाका लागि विदुर नगरपालिकाको कार्यालय भित्र गुनासो पेटिका राखिएको छ । गुनासो पेटिकाको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेलले यो अभियानले झन् नागरिकहरुलाई सर्बोच्च बनाएको बताउनुभएको छ । प्रहरीको विषयमा प्रहरी कार्यालमै पुगेर गुनासो वा उजुरी गर्ने वातावरण नभएको अवस्थामा यसले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभएको छ । 
प्रहरीले गरेको काम कारबाहीको विषयमा चित्त नबुझेमा वा सुझाव दिन मन लगोमा नगरपालिकाको कार्यालय परिषरमा राखिएको पेटिकामा लिखित रुपमा राख्न सकिने छ । जसले गर्दा नागरिकहरुको सेवामा खटिएका प्रहरीहरुलाई अझ जिम्मेवार र मर्यादित बनाउने पोखरेलले बताउनुभएको छ ।
गुनासो तथा सुझाव संकलन पेटिका स्थापनाको क्रममा नुवाकोट प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले यसरी संकलन हुने सुझाव, गुनासो वा उजुरी सिधै प्रदेश कार्यालयमा पठाइने बताउनुभएको छ । नगरपालिका र प्रहरी कार्यालयको रोहवरमा हरेक महिनाको १ गते पेटिका खोलेर त्यहाँ भएको उजुरीलाई सिधै प्रहरीको प्रदेश कार्यालयमा पठाइने उहाँले बताउनुभयो । प्रहरीका विषयमा विना हिचकिचाहट केही सुझाव दिन मनलागे वा उजुरी गर्नुपर्न भए लिखित रुपमा दिन उहाँले नागरिकहरुलाई आग्रह गर्नुभएको छ । 

 प्रहरी बिरुद्ध लिखित उजुरी