स्थानीय तहले उपभोक्ता समिति मार्फत गर्ने काम गैसस मार्फत गर्न माग 

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ अश्विन १०, शनिबार

४१ औं सामाजिक सेवा दिवस

नुवाकोटमा क्रियाशिल सामाजिक संस्थाहरुले आफुले गरेको राम्रा र प्रभावकारी सिकाईको आदानप्रदान गरेका छन् । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा विदुरमा आयोजना गरिएको कार्यक्रममा सहभागि गैर सरकारी संस्थाकर्मीहरुले आफ्नो तर्फबाट समुदायमा भएको योगदानको चर्चा गरेका छन् । 
गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले सामाजिक उत्तरदायित्व सहितको अभियानमा रहेको गैर सरकारी संस्थाहरुका कराण सरकारलाई लक्ष्य प्राप्ति र विकासमा सहयोग मिलेको बताउनुभएको छ । त्यस्तै सामाजिक संस्थाहरुलाई अब स्थानीय सरकारले सहि रुपमा परिचालन गर्न सकेमा विकास निर्माण र मानव विकासमा ह्वात्तै प्रगती हुने बताउनुभएको छ । 
स्थानीय सरकारले संघसंस्थालाई परिचालन गर्न छुट्टै योजना र बजेट तय गर्नु आवश्यक भइरहेको उहाँको तर्फ छ । उपभोक्ता समिति मार्फत् हुने काम प्रतिस्पर्धाको माध्यमबाट सामाजिक संस्थाबाट गर्नुपर्र्ने गैसस महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले बताउनुभएको छ । 
२०७२ सालको भूकम्प पछि नुवाकोट जिल्लामा सामाजिक संघसंस्थाहरुको सक्रियता प्रशस्त रहेको भएपनि अहिले हराउँदै गएको कार्यक्रममा चर्चा गरिएको छ । त्यसको मुख्य कारणमा श्रोत साधन र बजेट रहेको जानकारहरुले बताएका छन् । अन्तराष्ट्रिय दातृ निकायको बजेटबाट मात्रै योजना र कार्यक्रम तया गर्ने संघसंस्थाहरु अहिले हराएको बताइएको छ । आफ्नै श्रोत र नागरिकहरुको समेत सक्रियता र लगानीमा सञ्चालन भएका परियोजना र सामाजिक संस्थाहरु भने निरन्तर क्रियाशिल रहेको सामुदायिक विकास केन्द्र नेपाल सिडिसिका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनुभएको छ । 
यसरी दातृ निकायकै कारण गतिविधिमा खुम्चिने सामाजिक संस्थाहरुलाई टिकाउन र निरन्तर अभियानमा राख्नका लागि सामाजिक सुरक्षा कर र सामाजिक दायित्व अन्र्तगतको कोषहरु परिचालन गर्न दिनुपर्ने तर्क गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसीले गर्नुभएको छ । उहाँका अनुसार सामाजिक सेवामा खर्चिने भनेर बहुराष्ट्रिय कम्पनी तथा ठूला उद्योगहरुले आफ्नै कोषबाट रकम खर्चिरहेको प्रसङ्ग सुनाउनुभएको छ । 
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटमा कार्यरत गैर सरकारी संस्थाहरुको खुलेरै प्रसङ्ग गर्नुभएको छ । कोभिड–१९ का कारण विश्वमा देखापरेको अप्ठ्यारो अवस्थामा समेत नुवाकोटमा सामाजिक संस्थाहरुले राम्रो काम गरेको बताउनुभएको छ । यो कार्यक्रमको ठिक समयमा ठिक रुपमा मुल्याङ्कन हुने उहाँको धारणा छ ।