-------बेचिएको मान्छे--------

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक १८, मंगलबार

बेचिएको मान्छे

राम चन्द्र तिम्सिना (आवाज)

सुन्छु सुनको मूल्य आकासियो रे,

सुन्छु हिरा अझै महंगियो रे,

चाँदी झनै चर्किदै छ रे,

हर्ष न बिस्मत हजुर,

नुनको अभावले बेचिएको मान्छे म !!

निस्कपट रात, सन्नाटा परिवार,

पेट भित्र मुसोले कोहराम मच्चाएको थियो,

बाबा बाबा भन्दै छोरी रुँदै थिई हजुर,

अभावले आत्मसम्मान गुमाएको मान्छे म !!

तिरस्कारले बाँच्न सिकायो,

बहिस्कारले हाँस्न सिकायो,

छद्मभेषी भाषणले खान दिएन हजुर,

पेटको भोक मार्न बेचिएको मान्छे म !!

अन्यायले सिमा नाघ्यो,

अत्याचारले छानो ढाल्यो,

मानो नभएर रुवाबासी छ हजुर,

घरको छाक टार्न बेचिएको मान्छे म