मौलिकतामा ह्रास आएपछि कुरुप बन्दैछ हाम्रो तिहार ....

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक २९, शनिबार

हाम्रो तिहार ....

रामचन्द्र तिम्सिना (आवाज)

कुमाले दाईले बनाएको पालामा,

आफ्नै बारिको आलस कोलमा पेलेर बालेको बत्ती धिपधिप बल्थ्यो र पो

तिहार आए जस्तो लाग्थ्यो !

आमाले ढिकिमा कुटेको पिठोबाट सेलरोटिको सुगन्धले टोल मगमगाउँथे र पो

तिहार आए जस्तो लाग्थ्यो !

भर्खर खरी हालेको मादल रननन गाउँमा घन्किन्थ्यो र पो

तिहार आए जस्तो लाग्थ्यो !

छर-छिमेकका छोरिचेली माइती आउँथे शुभ समाचार सोद्थे र पो

तिहार आए जस्तो लाग्थ्यो !

सुरिलो स्वरमा भैलेनी खेल्थे झुपडीलाई पनि दरबार बनाउँथे र पो

तिहार आए जस्तो लाग्थ्यो !

आहा कति मौलिकता थिए ती तिहारमा,

आहा कति आत्मियता थिए ती भाईबहिनिमा !

भाईचारा त्यत्तिकै थियो,

आफ्नापन थिए ती तिहारमा !

खैर अब त आफ्ना र आफ्नोत्व पनि ब्यापारी पो बनेछ कि ?

चढाउने भेटी र दिने दक्षिणामा पनि वर्ग छुट्याउने ब्यारोमिटर पो जोडिएछ कि ?

लिने र दिने आशीर्वादमा पनि अंशबन्डा पो भएछ कि ?

मखमली, सुपारी र गोदावरी फुलको माला हराउँदै

प्लास्टिकका जरिहरु बिक्न थाले बजारमा !

क्यामुनाको र सालको पात अनि माटाको पाला हराउँदै

झिलिमिली चाईनिज बत्ती रोज्न थाले !

मौलिकतामा पुँजिवादी संस्कार घुसेपछी

देखासिखी तछाडमछाड गर्दैछन् DJ को धुनसंग मस्त छन् युवायुवतीहरु !

सभ्य भएर सोचौं एकपटक आयातीत संस्कार र सामनले बिकृत बन्दैछ तिहार,

मौलिकतामा ह्रास आएपछि कुरुप बन्दैछ हाम्रो तिहार !!