स्वास्थ्य क्षेत्रमा क्रान्ति : सबैको पहुँचमा सेवा

नुवाकोट न्यूज
२०७७ मंसिर १७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं संघिय सांसद हितबहादुर तामाङले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको बताउनुभएको छ ।
नुवाकोटको विभिन्न स्थानिय तहमा अस्पतालको शिलान्यास गर्दैै सांसद तामाङले केपी ओली नेतृत्वको वर्तमान सरकारले अब सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने गरी अस्पतालको निर्माण गर्ने बताउनुभयो ।
उहाँले विगतका सरकारले वर्षौदेखि सत्तामा राज गर्दा १५ बेडमा सीमित रहेको त्रिशुली अस्पताल अहिलको वर्तमान सरकारले एक सय बेडको बनाउने निर्णय गरेर काम गरिरहेको बताउनुभएको छ ।
यस्तै कार्यक्रममा बागमती प्रदेसका उपसभामुख राधिका तामाङले वर्तमान सरकार जनताको अधिकार प्राप्तिमा क्रियाशिल रहेकाले विगतको भन्दा जनतामा सुख र खुशी बढेको बताउनुभएको छ । कार्यक्रममा उपसभामुख तामाङले प्रदेश सरकारले गाउँगाउँमा विकासको लहर सिर्जना गरिरहेको बताउनुभएको छ ।
उहाँले स्वास्थ्य क्षेत्रमा भवन निर्माण देखी चिकित्सकहरुको वडा वडासम्म पहुँच पुगिसकेकोले अब कोही पनि नागरिक स्वास्थ्य सेवाको पहुँच बाहिर रहनु नपर्ने बताउनुभएको छ ।
नुवाकोटको ५ स्थानिय तह ककनी, तारकेश्वर, पञ्चकन्या, शिबपुरी र म्यागङ गाँउपालिकामा अस्पतालको निर्माण तथा स्तरउन्नतीको लागी शिलान्यास भैसकेको छ । पञ्चकन्या गाउँपालिकाको वडा नम्बर ३ को घलेगाँउमा १० शैया, ककनी गाउँपालिकाको ककनी प्राथमिक स्वास्थ्य केन्द्र, र स्थानिय तहले तोकेको स्वास्थ्यचौकि १० शैयामा स्तरउन्नती हुने भएको छ ।
तारकेश्वर गाउँपालिकाको दाङसिङ स्वास्थ्यचौकी १० शैयाको, शिवपुरी गाउँपालिकाको महाकाली स्वास्थ्य चौकी १० शैयामा निर्माण सुरु भएको । यस्तै, म्यागङ गाउँपालिकाको देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल स्थापना हुदैंछ । मन्त्रालयले तोकिएकै समयमा सबै स्थानियतहहरुलाई अस्पताल निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ ।