"यसपालिको जाडो धेरै"-

नुवाकोट न्यूज
२०७७ मंसिर १९, शुक्रबार

रामचन्द्र तिम्सिना (आवाज)
उमेर ढ्ल्किएर होकि
जवानी खस्किएर हो
सुर्य टाढिएर होकि
ताकत सकिएर हो।
पोहोरको भन्दा यसपालिको जाडो धेरै ।
पुर्वबाट उदाउँने सुर्य उत्तरबाट पो उदाउँन थालेछ कि ?
सुर्यको तेजिलो राप हिमालको सिरेटोले पो सेलायो कि ?
खै किन हो कुन्नी पोहोरको भन्दा यसपालिको जाडो धेरै ।
बाख्रोले खान्छ भन्थे जाडो खान छाडेछ
आगोले ज्यान तात्छ भन्थे तात्न छाडेछ
घोत्लिएर सोच्छु उत्पादन धेरै हुने लोभमा
लोकल बाख्रो मासेर बोयर पालियो
दाउरो फालेर ग्याँस बालियो के तात्थ्यो र ?
साच्चै भन्दैछु पोहोरको भन्दा यसपालिको जाडो धेरै ।
सिरक पुरानो भएर पो होकि ?
डसना मैलो भएर पो होकि ?
छोरोले साउदिबाट ल्याईदिएको कम्बल नतातेर पो होकि ?
मनमनै प्रश्न गर्छु आधुनिकताको नाममा खरको छानो मासेर
टिनको छाना खिचडिको मानो मासेर
तयारी खाना सुविधाको बहानामा
आधुनिकताले जकडिए र ऊ होकि ?
साच्चै हो पोहोरको भन्दा यसपालिको जाडो धेरै ।
हिटर बालियो तापियो गिजर खोलियो नुहाईयो
बिदेशी नयाँ ज्याकेट पनि लगाईयो
बिदेशी नयाँ सिलप्याक पनि खाईयो
खै ज्यान त तातेन किन हो ?
खिस्स मुस्कुराउँछु थांग्नामा जन्मेको,
झोलुङ्गोमा सुतेको,
आंगनामा खेलेर झुपडीमा हुर्किएको मान्छे म
कंक्रीटको छानोमा के तात्थ्यो र ?
साच्चै हो पोहोरको भन्दा यसपालिको जाडो धेरै । यसपालिको जाडो धेरै ।