केपी ओली सरकार लोकतन्त्र, राजनीतिक स्थायित्व, सुशासन र समृद्धि दिनबाट कर्तब्यच्यूत : नेता केसी

नुवाकोट न्यूज
२०७७ पौष १३, सोमबार

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले गत निर्वाचनमा दुईतिहाई बहुमतको मतादेश दिएका जनतामाथि नै कम्युनिष्ट पार्टीको नेतृत्वबाट प्रधानमन्त्री बनेका केपि शर्मा ओलीले कृतघ्नतापूर्वक धोका र कुठाराघात गरेको आरोप लगाउनुभएको छ ।
सोमबार विदुरमा प्रधानमन्त्रीको अलोकतान्त्रिक कदमका बिरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दे काँग्रेस नेता केसीले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधी सभा बिघटनको असंबैधानिक र अलोकतान्त्रिक कदमले कोरोना महामारी र प्राकृतिक प्रकोपबाट रुग्ण र थिलथिलो भएको मुलुकलाई थप पीडा दिने हर्कत गरेको समेत आरोप लगाउनुभएको छ ।
नेता केसीले सिंगो मुलुक फेरि संविधानको चीर–हरण तथा राजनीतिक संकटबाट गुज्रिन विवश भएको बताउदै बाह्य खतराको कालो बादल देखिन थालेको वर्तमान अवस्थामा जिम्मेवारीपूर्ण अभिभारा पाएको कम्युनिस्ट सरकार संवैधानिक सर्वोच्चता कायम राख्दै लोकतन्त्र, राजनीतिक स्थायित्व, सुशासन र समृद्धि दिनबाट कर्तब्यच्यूत भएको बताउनुभएको छ ।
संविधानसभाले जन्माएको संविधानलाई समेत निरर्थक बनाउने गरी प्रधानमन्त्रीले संसद विघटन २०१७ को कठोर कदमलाई सम्झाई दिएको नेता केसीको भनाइ रहेको छ ।

नेकपाको सरकार ३ वर्षभरि सुशासन, सुख, समृद्धि, विकासका भाषणमा जनतालाई दिग्भ्रमित गरी शासकीय कुकृत्य, भ्रष्टाचार, दण्डहिनता मच्चाउनमै केन्द्रित रहेको नेता केसीको आरोप छ । उहाँले संवैधानिक अंगमा अवैध र अनैतिक नियुक्ति, जघन्य आर्थिक अपराधका अर्बौँ भ्रष्टाचार काण्ड, एयरबस जेट खरिदमा भएको भ्रष्टाचार, ३३ किलो सून, मूल नाईके सरकारी संरक्षणमै फरार, उखु र तरकारी किसान विरुद्ध विचौलिया हावी हुनमा सरकारी प्रश्रय, उनीहरूको आन्दोलन, चिकित्सा–शिक्षाका क्षेत्रमा ऐनमा माफियाको पृष्ठपोषण, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन, महँगी, बेरोजगारी, असुुरक्षा, बलात्कार तथा आपराधिक घटनालाई ढाकछोपमै सरकारले ध्यान केन्द्रित गरेको समेत आरोप लगाउनुभएको छ ।
नेता केसीले केपी ओली र प्रचण्ड÷ माधब नेपालको फुटमा कुनै सैद्धान्तिक मतभेद, नीतिगत फरक नभएको बताउदै दुवै पक्षसँग नेपाली काँग्रेसले समदूरी र समान व्यवहारको नीति अपनाउने बताउनुभएको छ । सर्वदलीय छलफल, वैचारिक सहमति, कार्यमूलक सम्बन्ध हुनसक्छ, तर ती एक्सनलाई काँग्रेसले आफ्नै मुभ्मेन्ट कै रुपमा नलगी काँग्रेस कसैसँग टाँस्सिएर होईन एक्लै आन्दोलन गरेर निर्वाचनको आधार बनाई जनताको घरदैलोमा जाने बताउनुभएको छ ।
