लोकतान्त्रिक बिधिमा जाने आँट गर्नु पर्छ ः  तिर्थ थिङ तामाङ 

मणि लामा
मणि लामा

२०७५ फाल्गुन २९, बुधबार

तामाङ समाज कतार

काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ३ हाल ललितपुर महानगरपालिका वडा नम्बर १८ भैसेपाटी निवासी तिर्थ थिङ तामाङ बिगत १५ बर्षदेखि कतार एयरलाइन्समा कार्यरत हुनुहुन्छ । उहाँले आफ्नो फुर्सदको समय समाजसेवा र आफ्नो समुदाय को हितको लागि सामाजिक कार्यमा खर्चिने गर्नुहुन्छ । प्रवासमा दैनिकी आफ्नो कर्ममा ब्यस्त रहेता पनि आफ्नो जातिको धर्म संस्कार संस्कृति र रितिरिवाज लाई निकै माया गर्ने उहाँ काभ्रेपलान्चोक सेवा समाज कतारको आजिवन सदस्य र नेपाल प्रवासी तामाङ समाज कतारका बर्तमन अध्यक्ष पनि हुनुहुन्छ । अध्यक्ष तामाङ सँग नुवाकोट न्युजडटकमका लागि कतारको दोहाबाट सहकर्मी मणि लामाले गरेको  कुराकानीको सम्पादित अंश । 

१. तामाङ समाज कतारको अध्यक्ष हुनुको नाताले यो प्रष्ट पार्नुहोस नेपाली समाज र तामाङ समाजमा के भिन्नता छ ?
नेपाली समाज भनेको सिङ्गो देश र सम्पुर्ण जातजाति नेपालीहरुलाई एकै ठाँउमा अटाउन सक्ने र सिङ्गो समुदायको यसले प्रतिनिधि गरिन्छ । तर तामाङ समाज भनेको विशुद्ध एकल जातिय समाज हो, यसले तामाङ समुदायको मात्र प्रतिनिधि गरिन्छ ।

२. प्रवासी तामाङ समाज कतारलाई व्याख्या गर्दा तपाईं कसरी गर्नुहुन्छ ?
तामाङ जातिको “भाषा,धर्म,लिपि,संस्कार संस्कृति“ लाई प्रवासमा अरु समुदाय सामु प्रवद्र्धन र संरक्षण गर्नुको साथै आफ्नो हक,अधिकार र पहिचानको मुद्दामा तामाङ समुदाय लाई एकीकृत गरि प्रवास बाट राज्यपक्ष लाई आवाज उठाउन र कसैलाई भैपरी आएको खन्डमा सहयोग गर्ने हेतुले संगठित भएको विशुद्ध सामाजिक संस्था हो ।
३. तामाङ समाजको नेतृत्व गरिरहनु भएको छ तसर्थ  गैर तामाङबासीहरु मा तपाईंको उत्तरदायित्व के हुनेछ ? 
यो एउटा विशुद्ध जातिय संस्था भएता पनि यदि अरु गैरतामाङ हरुलाई केही दुःख र संस्थाले सहयोग गर्नु पर्ने अवस्थामा भएमा हामी तामाङ बाहेक अरुपनि संस्थाले सकेको सहयोग गर्नु पर्छ । किन कि सबैभन्दा पहिला हामी नेपाली हौं, अनि मात्र तामाङ त्यसैले जुनसुकै जातको भएता पनि मैले र संस्थाले गर्नु पर्ने उत्तरदायित्व बाट पछि हट्ने छैन ।
४.जातीय प्रारुप आफ्नै ठाउँमा छ तर प्रवासमा जातीय संगठनको स्वरुप कस्तो हुनुपर्छ ?
अरु समुदाय सँग सहकार्य गरि आफ्नो समुदाय माथि पुर्ण रुपमा उत्तरदायित्व निभाएर र सकारात्मक तवर बाट आफ्नो जातिको आर्थिक, शैक्षिक र राजनीतिक चेतनाको स्तर वृद्धि गरि जातीय आवाज उठाउन सक्ने खालको हुनु पर्छ ।
५. प्रवासी तामाङ समाज कतारको आफु चालक हुँ जस्तो लाग्छ कि सहचालक हुँ जस्तो लाग्छ ?
हा.हा.हा सहचालक त पक्कै होइन चालक नै हुँ ।
६. तामाङ समाज कतार नेपाल तामाङ घेदुङ केन्द्रमा पनि आबद्ध थियो ! र केही महिना अगाडि सम्बन्ध तोडिसकेको छ यसको मुख्य कारण के हो ? 
हो सन् २००५ मा स्वतन्त्र रुपले स्थापना भएको तामाङ समाज कतार १० बर्षसम्म स्वतन्त्र रुपमै अगाडि बढिरहेको थियो । सन् २०१५ मा आएर बर्तमन प्रमुख सल्लाहकार थर्चा लामा तामाङको कार्यकालमा तामाङ समाज कतारको तर्फबाट थर्चा लामा ज्यु र म आफू स्वंम अनि नेपाल तामाङ घेदुङको तर्फबाट तत्कालीन अध्यक्ष तथा बर्तमन प्रमुख सल्लाहकार कुमार योन्जन तामाङ र निबर्तमन सचिब प्रतिक ङेसुर हामी चार जना बिच नेपालमा बसेर बृहत छलफल गरि घेदुङ केन्द्रमा आबद्धता प्रमाण पत्र लिएको थियो। जुन बेला कतारमा कुनै पनि हालतमा अरु तामाङ संस्था गठन गर्न नदिने बिधान पनि यहाँको स्थानीय कानुन अनुसार आफ्नै चलाउने भनेर कुरा भएको थियो । तर एउटा सानो कुराले गर्दा नेपाल प्रवासी तामाङ समाज कतार घेदुङमा आबद्ध हुदाहुदै बिना संस्थागत जानकारी कारबाही र्गयो भन्ने गैरजिम्मेवारी तरिकाले नेपाल तामाङ घेदुङको बर्तमन अध्यक्ष मोहन गोलेकै प्रत्येक्ष संलग्नमा कतारमा घेदुङको शाखा गठन गरेको कारण नै घेदुङ बिचको सम्बन्ध तोडिएको हो र तामाङ समाज कतारले, नेपाल तामाङ घेदुङको भाषा कला संस्कृति बिभाग प्रमुख काजीमान थिङ लाई कतार स्थित एक कार्यक्रम बिच घेदुङ बाट प्राप्त आबद्धता प्रमाण पत्र पनि फिर्ता गरिसकेको छ र यो कुरा आम नेपाली सामु अवगत नै छ । 
 

तामाङ समाज कतार

७. यो फुटको सृजना कसरी भयो ? 
एकदमै राम्रो प्रश्न गर्नुभयो बास्तबमा गत सालको २८५४औं खि ल्होछारको कुरा नै फुटको मुख्य कारण थियो। घेदुङले पहिला ल्होछारको लागि माघ ३,४,५,र ६ गतेको लागि सैनिक कार्यलय बाट टुँडिखेल चाहियो भनेर संस्थागत पत्राचार गरेर सैनिक कार्यलय बाट अनुमति पनि लिइसके पश्चात् पनि ल्होछारको अन्तिम घडीमा आएर “हाम्रो तिथि मिल्दैन हाम्रो ल्होछार माघ ४ गते होइन फल्गुण ४गते हो“ भनेर एकासी विभिन्न मिडिया मार्फत  समाचार प्रशारण गरेपछि बिषयमा नेपाल प्रवासी तामाङ समाज कतारले “यतिका समयसम्म किन सिङ्गो समुदाय लाई अन्योल मा राखियो“ भनेर प्रेस बिज्ञपति मार्फत बर्तमन कार्यसमिति लाई असन्तुष्टि जाहेर गरेका थियौं । तर पक्कै त्यो प्रेस बिज्ञपति हामिले नकारात्मक सोचले जारी गरेको थिएन,तसर्थ  केही समय पश्चात् घेदुङले तामाङ समाज कतारलाई स्पष्टीकरण मागिएको थियो लगत्तै  त्यसको जवाफ् तामाङ समाज कतारले दियो पनि तर त्यही बेला २०७४ चैत २३ र २४ गते ललितपुरको कोन्ज्योसोममा सम्पन्न भएको नेपाल तामाङ घेदुङको बिधान सभामा तामाङ समाज कतारलाई प्रतिनिधित्व नगर्नुको लिखित जानकारी पाँउ भन्ने अनुरोध लाई बर्तमन घेदुङको कार्यसमितिले गलत अर्थ बुझी घेदुङ लाई स्पष्टीकरण सोधियो भन्ने जस्तो आरोप लगाएर तामाङ समाज कतारको आबद्धता रद्द गरेको कुरा समेत बाहिरियो  ब्यक्तिबाट जानकारी पाउनु र संस्थागत कारबाहीको पत्र अहिलेसम्म नदिनु भनेको कहाँसम्मको राजनीति रहेछ भनेर यसबाट स्पष्ट हुन आउछ । मुख्य कारण चाहिँ गत बर्षको ल्होछारको मिति नै हो ।
८. तामाङ समाजको उदेश्यको झ्याम्टा आफ्नै तालको छ तर बेला बेलामा कसैले त्यो ताल बिगारेको जस्तो महसुस हुन्छ कि हुदैन ?
होइन हामिले सामाजिक संस्थामा त्यसरी बुझ्नु भएन। केही बिचमा तलमाथि हुन्छ नै तर समाज आफनै तरिकाले अगाडि बढिरहेको छ। यो कसैको तालले गर्दा बिगारेकै छैन, बिगार्न खोजिएको मात्र हो, यो कसैले चाहेर सम्भाव नै छैन ।
९. तपाईंको बिचारमा तामाङ समाज कतारको जग कति बलियो छ कि छानो बलियो छ ?
सबैलाई स्पष्ट भएकै कुरा हो तामाङ समाज कतारको जग कत्तिको बलियो छ भनेर भनिरहन पर्छ जस्तो लाग्दैन। बिना जगको छानो कहिल्यै पनि बलियो हुनै सक्दैन, यदि तामाङ समाज कतारको जग बलियो नभएको भए यो बेला समाज विघटन भइसक्थ्यो, जग बलियो भएको कारण नै झन(झन हामी बलियो हुँदै गएका छौँ ।
१०. आगामी अप्रिलमा हुने अधिबेशनबाट तपाईं कस्तो नेतृत्वको अपेक्षा गर्नु भएको छ ? 
पक्कै पनि एकपटक संस्थाको नेतृत्व लिइसके पछी आफुलाई भन्दा समाजको बढी माया लाग्ने रहेछ । र जसले पनि आफुपछिको आउने नेतृत्व समाजको हितको लागि लड्न सक्ने सक्षम ब्यक्ति नै आओस् भन्ने चाहना हुन्छ। मेरो पनि यो अधिबेशनले अझै समाज लाई राम्रोसँग डो¥याउन सक्ने, समाजप्रति इमानदारिता र इज्जत गर्न सक्ने नेतृत्वको अपेक्षा राखेको छु ।
 

तामाङ समाज कतार

११. यदि त्यो अधिवेशनमा चुनाव हुने स्थिती आएमा तपाईंको भुमिका कस्तो हुनेछ ?
हेर्नुस् कुनै पनि सामाजिक संस्थामा चुनाव हुनु भनेको यसले समाजलाई दीर्घकालीन सम्म असर गर्छ, र यसको घाटा सबैले बेहोर्नु पर्छ। मेरो भुमिका भनेको सबैलाई मिलाएर सहमति मै नेतृत्व चयन गर्ने हो। यदि त्यस्तै अवस्था सृजना भएको खण्डमा लोकतान्त्रिक बिधिमा जाने आँट पनि गर्नु पर्छ तर कसैले हारजित जे भएनी अधिबेशन सम्पन्न पछि सबै कुरालाई भुलेर समाजको हितको लागि लड्न जरुरी छ । तर मेरो अन्तिम समयसम्म सहमति मै जाने प्रयास रहने छ ।
१२. अन्त्यमा कतारमा रहेका सम्पुर्ण नेपाली कामदारहरुको मनोबैज्ञानिक कसरी अध्ययन गर्नु भएको छ ?
यहाँ कोहि पनि नेपाली हरु आफ्नो घरपरिवार बाट टाढा बस्ने इच्छा भएर प्रवासमा बसेको होइनौ, सबैको एउटै समस्य देशमा बढ्दो बेरोजगारी नै हो ।यदि आफ्नै देशमा रोजगारी सृर्जना भए सबै आफ्नै देश फर्किने चाहना नै हो। तर सबै आफनै बाध्यता छ । केही बर्ष प्रवासमा दुस्ख गरेर आफ्नो सन्तान र आफ्नो परिवारको लागि भबिस्य लाई सुरक्षीत बनाउने उदेश्य नै हो ।