गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन नुवाकोटका तीन निजी विद्यालयहरु गाभिए

नुवाकोट न्यूज
२०७७ पौष २०, सोमबार

नुवाकोटमा सञ्चालित तिन निजी वबद्यालयहरु गाभिएका छन् । गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले विदुर नगरपालिकाका भैरवी एकेडेमी, जे.डि.बोर्डिङ सेकेण्डरी स्कूल र अपिकल बोर्डिर्ङ स्कूल गाभिएर एकीकृत पठनपाठन सुरु गरेको छ ।
देविघाट जलविद्युत प्राधिकरणको स्वामित्वमा रहेको जे.डि. सेकेन्डरी बोर्डिङ स्कुलको नयाँ भवनबाट तिनै विद्यालयको सहमति अनुसार सोमबारदेखि एकीकृत अध्यापन सुरु गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष पवन नेपालले बताउनुभएको छ ।
विद्यालय मर्जरले नुवाकोटको शिक्षा क्षेत्रमा नयाँ आयाम छाउने उहाँको भनाई रहेको छ । जिल्लामै पहिलोपटक गुठीद्वारा सञ्चालित विद्यालयमा निजी विद्यालयहरु एकआपसमा गाभिएको हो । सम्झौता अनुसार विद्यालयमा शैक्षिक गुणस्तरीयता कायम हुने विश्वास लिईएको छ । विद्यालय व्यवस्थापनको अध्यक्ष र शिक्षक÷शिक्षिका भैरवी एकेडेमीकै रहने सहमति भएको छ । मर्जपश्चात् जे.डि. सेकेन्डरी बोर्डिङ स्कुलकै नाम रहने गरी सञ्चालन भएको छ । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्यापन अंग्रेजी माध्यमबाट गराईने योजना रहेको छ । विद्यालयले उच्च माध्यमिक तहका व्यवस्थापन, विज्ञान संकायको साथै भेटेनरी र कृषि विषयका अध्यापन गराउने छ ।
महाभूकम्पले क्षति पु¥याएको विद्यालय भवनको पुनःर्निर्माणपछि अहिले सञ्चालनमा आएको नयाँ भवनले विद्यालयको भौतिक संरचना नै फेरिदिएको छ ।

विद्यालय मर्जले पूर्णता पाएपछि पौष १२ गते नै नयाँ सञ्चालक समिति विस्तार गरेको थियो । शान्त वातावरणमा विद्यालय सञ्चालन हुदाँ पठनपाठनमा समेत सहज हुने अपेक्षा लिएको छ । कोभिड १९ ले विश्वलाई नै आक्रान्त बनाएकोमा लामो समयदेखि भौतिक रुपमा विद्यालय बन्द गर्नुपरेको थियो भने आर्थिक भार समेत पनि व्यहोर्नु परेको विद्यालयका नवनियुक्त प्रधानाध्यापक ठाकुर पुडासैनीले बताउनु भयो ।
गुणस्तरीय शिक्षा प्रदानका लागि एउटा सुविधा सम्पन्न पूर्वाधारयुक्त शैक्षिक संस्था यस जे.डि. सेकेन्डरी बोर्डिङ स्कुलमा रहेको छ । विद्यालय मर्जको अवसरमा शैक्षिकसत्रको माघ १ गते देखि प्रति महिना हरेक विद्यार्थीको मासिक शुल्कमा ५० रुपैयाँ छुट समेत गरेको छ । प्राधिकरणका कर्मचारीका बालबालिकाहरुलाई पठनपाठन गराइने उदेश्यले २०४३ सालमा स्थापित विद्यालयमा केहि वर्षयता विद्यार्थीको कमि हुन गएको थियो ।

प्राधिकरणका प्रमुख सुरज दाहालको सहकार्यमा जेडी स्कुलमा भएको भौतिक संरचना तथा विद्यालयलाई जीवन्त राख्न र महामारीले आक्रान्तको भारमा परेको विद्यालयलाई उकास्नुको साथै जिल्लामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यालयका सञ्चालकहरूको सहमतिमा मर्ज भएको विद्यालयले जनाएको छ । विद्यालयले प्राधिकरणका कर्मचारीका बालबालिकाहरुलाई यसअघि दिदैं आईरहेको १० प्रतिशत छुटलाई निरन्तता दिईने जनाएको छ । अहिले विद्यालय मर्जपछि विद्यालयमा ४५० विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।