सच्चा कलाकारहरु कलाका पुजक हुन ः अध्यक्ष सविना तामाङ 

मणि लामा
मणि लामा

२०७५ चैत्र १८, सोमबार

नेपाल तामाङ कलाकार संघ

प्रवासमा रहेर पनि कला,कलाकारिता तथा सामाजिक क्षेत्रमा आफूलाई समर्पित गर्दै आउनुभएका एक नाम हो सविना तामाङ । किशोरी अवस्था देखी नै विभिन्न संघसंस्थामा आवद्ध भई समाजसेवामा होमिनुभएका तामाङ हाल कतारको दोहामा कार्यरत रहनुभएको छ । सात समुन्द्र पारिको देशमा पनि ऊहाँ  तामाङ समुदायको संस्कार, संस्कृति, रितिरिवाज र परम्पराको जगेर्ना गर्न तल्लीन रहनुभएको छ । लुकेका कला र प्रतिभालाई मलजल गर्ने उदेश्यले स्थापना गरिएको  नेपाल तामाङ कलाकार संघ कतारको ऊहाँ अध्यक्ष हुनुहुन्छ । साथै ऊहाँ ओखलढुंगा सेवा समाज कतारको प्रथम उपाध्यक्ष पनि हुन । तिनै अध्यक्ष तामाङ सँग कलाकार संघको गतिविधिमा केन्द्रित रहेर नुवाकोट न्युज डट्कमका लागि कतारको दोहाबाट सहकर्मी मणि लामाले गरेकी कुराकानीको सम्पादित अंश ः 
१.तपाईंको प्रवासी जिन्दगी कसरी अगाडी बढ्दैछ ? 
हजुर प्रवासमा बसेर जीवन व्यतीत गरिरहेका आम नेपाली र त्यसमा पनि महिलाहरूमा म आफुलाई एक भाग्यमानी नारी मान्दछु । त्यसकारण पनि एकदमै खुसीका साथ आगामी दिनहरुको कल्पनामा व्यतीत भईरहेको छु । 
२. हामी आप्रवासी कामदारका लागि कतारको कानुन निकै कन्जुस छ,यस्तो अवस्थामा तपाईंको कम्पनीले तपाईंको स्वतन्त्रता माथि हस्तक्षेप गरेको कुनै क्षणहरु छन ?
विलकुल छैन । मेरो कार्यक्षेत्र शिक्षा क्षेत्रसंग सम्बन्धित भएकोले पनि हुन सक्छ, मेनेजमेन्ट बाटै ड्यूटीको समय बाहेक अरु समयमा स्वतन्त्र छौं भनेर भनिन्छ । तर त्यो स्वतन्त्र समयलाई गलत उपयोग भएको खण्डमा भने माफी हुदैन । त्यसमा पनि यहाँलाई थाहा नै छ, म विवाहित भएकोले श्रीमान संगै बसेकी छु । 
 

नेपाल तामाङ कलाकार संघ

३.नेपाल तामाङ कलाकार संघ कतारको अध्यक्ष हुनुको हैसियतले यस संघको परिचय दिनुपर्दा  कसरी दिनु हुन्छ ?
नेपाल तामाङ कलाकार संघ कतार सन २०१६ मा स्थापना भएको हो । प्रतिभा हुदाहुदै पनि विभिन्न कारणले कतारमा आइ कार्यरत तामाङ कलाकारहरूलाई यस संघमा आवद्ध गराई उनीहरुमा लुकेका कला प्रतिभालाई उजागार गर्न र सामूहिक रूपमा अवसर प्रदान गर्ने कार्य यस संघले गरिरहेको छ । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने भावनाका साथ यस संघले यसअघि २ वटा ठुला सांस्कृतिक कार्यक्रम र तामाङ चलचित्रलाई पनि प्रदर्शन गरिसकिएको छ । समग्रमा भन्नुपर्दा कतारमा कार्यरत तामाङ कलाकारहरूलाई एकीकृत गरी कलाको माध्यमद्वारा तामाङ जातीको कला संस्कृति र भाषालाई जगेर्ना गर्ने र लुकेका प्रतिभालाई उजागार गर्ने मंचको रूपमा कार्य गर्ने सांस्कृतिक संस्था हो । 
४. एउटा महिला, त्यसमाथि प्रवासमा सिङ्गो तामाङ कलाकार हरुको नेतृत्व गरिरहनु भएको छ, यो भनिदिनुहोस् कि महिलाले एउटा संस्था डो¥याउन कस्तो किसिमको बाधा अड्चनहरु सामना गर्नुपर्छ?
संस्था भन्नाले कुनै पनि एक व्यक्तिको नभई सबैजनाको हुने भएकोले गर्दा आफू नेतृत्वमा रहदा आफ्नो कार्य सहयोगीहरु राम्रो हुदा काम गर्न सहज नै हुने गर्दछ । 
५.प्रवासमा एउटा महिला भएर सामाजिक संघसंस्थाहरुमा हिड्न कत्तिको सहज छ ?
हामी सबैजना प्रवासमा रहेको हुदा यहाको कानुनलाई पालना गर्नु जरुरी छ । त्यसैले त्यस नियमलाई सहि रुपमा पालना गरि हिड्यौ भने कतारको हकमा त्यति कठिनाइ छैन ।
 

नेपाल तामाङ कलाकार संघ

६. तपाई त ओखलढुंगा सेवा समाज कतारको प्रथम उपाध्यक्ष पनि हुनुहुन्छ, आफ्नो दैनिक कर्म सँगसँगै संघसंस्थाहरु को लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अरु दिनहरुमा आफ्नो दैनिक कार्यमा व्यस्त रहेतापनी आफ्नो बिदाको समयमा भने संघ संस्थाहरुमा आफुले दिन सक्ने समय दिने प्रयास गर्दैछु ।
७. यसरी संघसंस्थाहरुमा आवद्ध हुनुमा तपाईंको आफ्नै लगावले हो या कसैको दबाबले हो? संघ संस्थामा आबद्ध भइ सामाजिक सेवामा लाग्नुका साथ साथै आफ्नो जातिको कला र संस्कृतिको जगेर्ना गर्नु मेरो आफ्नै लगाव हो । यसमा मेरो परिवारको पनि साथ र सहयोग रहेको छ ।
८. अब मुख्य विषयवस्तुमा प्रवेश गरौं, तपाईंले नेतृत्व गरेयता संघ भित्र के कस्ता परिवर्तन गर्नु भो र अब के कस्ता परिवर्तन गर्नु बाकी छ ?
तामाङ कलाकार संघ भन्नासाथै तामाङ जातिको कला संस्कृतिको जगेर्ना साथसाथै लुकेर बसेका प्रतिभाहरुलाई अगाडि ल्याउनु हो । त्यसैले अहिले हामिले कलाकारहरुका निम्ति “प्रतिभा उत्थान कोष“ को निर्माण गरेका छौ । अबका दिनहरुमा त्यस कोषबाट राम्रा राम्रा कलाकारहरुलाई अवसर प्रदान गरि कलाकारहरुको प्रतिभा उत्त्थान गर्नु नै अबको हाम्रो नया कदम हो ।
९. यस् संघले  “प्रतिभा उत्थान कोष“ पनि संचालन गरिसक्नु भएको छ, कोषको उदेश्य के हो? संक्षिप्त बताइदिनुस् न ।
“प्रतिभा उत्त्थान कोष“ को मुख्य उद्देश्य भनेको प्रवासमा रहेका विभिन्न कला भएका व्यक्तिहरुलाई अवसर प्रदान गरि तामाङ जातिको कला र संस्कृतिको जगेर्ना गर्नु हो ।
 

नेपाल तामाङ कलाकार संघ

१०.तामाङ समुदायको कला र कलाकारिताको क्षेत्रधिकार फैलाउनमा यो संघले कस्तो भुमिका खेलेको छ ? 
तामाङ समुदायको कला र कलाकारिताको क्षेत्रधिकार फैलाउनका निम्ति विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा तामाङ जातिको मुख्य नृत्य सेलो, म्हेन्दोमाया प्रस्तुत गर्ने साथै विभिन्न कार्यहरुमा कलाकार संघको तर्फबाट सहयोग गर्ने, आफ्नो कला, संस्कृतिलाई जोगाइ राख्नको निम्ति साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने गर्दै आइरहेको छ ।
११. कतारमा रहेका तामाङ भाषी कलाकारहरुको कला श्रीवृद्धि गर्नलाई, यस संघको भावी योजनाहरु के कस्ता छन ? 
कलाकारहरुको कला श्रीवृद्दी गर्नका लागि हरेक हप्ताको शुक्रबार नृत्य प्रशिक्षण, गायन प्रशिक्षण, उद्घोषण प्रशिक्षणको व्यवस्था गर्ने साथै “प्रतिभा उत्त्थान कोष“ मार्फत नया कलाकारहरुलाई अवसर दिइने । 
१२. समग्रमा कलाको दृष्टिकोणले हेर्दा कतारमा नेपाली कलाकारिताको अवस्था कस्तो देख्नुभएको छ ?
कतारमा नेपाली कलाकारितामा प्रख्यात व्यक्तिहरु लगायत नया कलाकारहरु प्रशस्त छन्। यदि हामी सबैजना मिलेर अगाडि बढ्ने हो भने पक्कै पनि नेपाली कलाकारिताको क्षेत्रमा हामिले केही फड्को मार्न भने पक्कै सक्छौ।
१३. अन्त्यमा, कलाको नाममा विकृति फैलाउने कलाकारहरु लाई के भन्न चाहनुहुन्छ ? सच्चा काकलारहरू वास्तवमैं कलाको पुजारी हुन्छन् । त्यसैले पनि उनिहरुबाट कलाको नाममा विकृति हुदैन भन्ने मेरो विश्वास रहेको छ । यदी देखासिकीमा कोहि कसैबाट त्यस्तो कार्य भएका छन् भने नगरौं । कलाको सदैव सम्मान गरौं भन्न चाहन्छु ।