वन्यजन्तुले आक्रमण गरेकोलाई राहत रकम बितरण

नुवाकोट न्यूज
२०७८ पौष २९, विहिबार

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्रको वन्यजन्तुको आक्रमणबाट क्षति पुगेकोलाई राहत रकम बितरण गरिएको छ । साथै वन्यजन्तुले आक्रमण गर्नसक्ने अन्य क्षेत्रहरुमा तारबार लगाउने कार्य भैरहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो । निकुञ्जले गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल ४८ लाख १६ हजार ६ सय ५५ रुपैयाँ राहत प्रदान गरिएको जनाएको छ ।
राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा सात लाख ९६ हजार ६ सय ५५, अन्नबाली क्षतितर्फ ३४ लाख २२ हजार रुपैयाँ एवं पाल्तु चौपाया नोक्सानतर्फको पाँच लाख ९८ हजार प्रदान गरिएको निकुञ्जका वन प्राविधिक सुलक्षा श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसैगरी, ७५ लाख रुपैयाँ बराबरको कार्य योजनाअन्तर्गत रसुवाको राम्चे तथा यार्सा एवं नुवाकोटको तादी गाउँपालिकाको वडा नम्बर २ चिलाउने गाउँ क्षेत्रमा तारबार लगाउने काम सुरू गरिएको निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभएको छ ।
निकुञ्जमा भालुको आक्रमणबाट विगतका वर्षमा दर्जनौँ मानिस घाइते परेका थिए भने पछिल्लो समय पूर्वसावधानी अपनाउँदा तीन जनामात्र घाइते भएको निकुञ्जले जनाएको छ । डेढ वर्षको अवधिमा जङ्गली भालु तथा बँदेलले एक हजार एक सय ७६ किसानको अन्नबाली नोक्सान पारेको र चितुवाको आक्रमणबाट ६० भन्दा बढी चौपाया मरेको बताइएको छ । मानव तथा वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन जङ्गल र आवादी जमिनको सिमानामा तारबार लगाउने काम सुरू गरिएको छ ।
किसानको खेतबारीमा बर्सेनि वन्यजन्तुको आक्रमण बढ्दै गएपछि तारबारको माध्यमबाट रोकथाम गर्ने नयाँ नीति ल्याइएको निमित्त प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिनुभएको छ ।