विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप उपलव्ध गराइने : विदुर नगरपालिका 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ पौष २९, विहिबार

विदुर नगरपालिका,सञ्जु पण्डित, कोरोना भाइरस, विद्यालय

नुवाकोटको विदुर नगरपालिकाले माघ १० गतेभित्रमा नगर भित्रका सम्पुर्ण विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको दोश्रो डोज खोप उपलव्ध गराउने लक्ष्यका साथ विद्यालय सूचारु गर्ने निर्णय गरेको छ । 
सम्बन्धित सरोकारवालाहरुको बैठक बसेर बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको मेयर सञ्जु पण्डितले जानकारी दिनुभएको छ । 
सरकारले कोरोना भाइरसको जोखि बढेको भन्दै नेपाल सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि विदुर नगरपालिकाले नियमित रुपमा विद्यालय सञ्चालन गर्न लाई बिद्यालयहरुलाई पत्राचार गरेको छ । 
नगरपालिकामा कोरोना भाइरस संक्रमणको अवस्था सामान्य रहेकोले विद्यालयहरु बन्द नगर्ने निर्णय गरिएको हो । यस्तै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाएर मात्र विद्यालय सञ्चालन गराउन, विद्यालय सञ्चालनको सम्वन्धमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई जानकारी गराउन, विद्यार्थी संख्या अत्याधिक रहेको कक्षालाई २ चरणमा सञ्चालन गर्न समेत उक्त पत्रमा उल्लेख गरिएको छ । यस्तै कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा शिक्षक तथा विद्यार्थीलाई अलग्गै रहन, कोरोना भाइरस परिक्षण गराउन र निको भए पछि मात्र विद्यालयमा प्रवेश गराउन पनि विद्यालयहरुलाई पठाइएको पत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रमलाई पूरा गर्न र विगतको समयमा कोरोना भाइरसको कारण विद्यार्थीको सिकाईमा पुगेको क्षतीलाई पूर्ति गर्नको लागि पनि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख छ ।
नगरपालिका भित्र कोरोना भाइरसको जटिलता निम्तिएमा विद्यालय सञ्चालन सम्वन्धमा अर्को वैठक बसेर निर्णय गर्ने नगरपालिकाले जनाएको छ । वालबालिकाको स्वास्थ्यको पूर्ण रुपमा ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउन नगर भित्रका सबै विद्यालयहरुलाई आग्रह गरिएको छ ।
 

You may also like: