समाजवाद उन्मुख स्थानीय सम्वृद्धिका लागि, माओवादी केन्द्रको नेतृत्वमा तादी

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७९ बैशाख १५, विहिबार

माओवादी केन्द्र, तादी गाउँपालिका

२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) तादी गाउँ समितिको प्रतिबद्धता पत्र
अदरणिय तादी गाउँपालिकावासी दाजुभाई तथा दिदिबहिनीहरु !
सर्वप्रथम राजनैतिक परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्ने नेपाली आमाका महान सन्तती ति विर सहिदहरु प्रति श्रद्दासुमन प्रकट गर्दै आन्दोलनका क्रममा बेपत्ता तथा घाइते योद्धाहरु प्रति उच्च सम्मान र स्वास्थ्य लाभको कामना गर्दछौ । 
पृष्ठभुमी :
तादी गाउँपालिकाको संरचना बन्दै गर्दा साविक उर्लेनी, रालुकादेवी, खरानीटार, सुन्दरादेवी र नर्जामण्डपको समग्र भू–भाग समेटेर ६ वटा वडामा विभाजन गरियो । र केन्द्र खरानीटार बनाइयो । यो भू–बनावट र जनसांस्कृतिक हिसावले ठिक छ । हाम्रो संस्कृति, प्राकृतिक सम्पदा, बौद्धिक सम्पती र युवा जनशक्तिलाई समुचित र सन्तुलित हिसावले उपभोग वा प्रयोग गर्न सके सुन्दर र सम्मृद्ध तादी निर्माण गर्र्न सकिन्छ । हामीले अठोट पनि गरिसकेका छौं कि, अब स्वच्छ र मैत्रिपूर्ण राजनैतिक प्रतिस्पर्धा गरी आगामी स्थानीय तह–२०७९ निर्वाचनमा यहाँहरु बीचमा निम्नानुसारको कार्ययोजना र प्रतिबद्धता सहित उपस्थित भएका छौं ।
सुशासन :
१. मुलतः संविधानको मुल मर्म र उद्देश्य अनुसार परिणाममा आउने गरी जनतामा केन्द्रित भई नागरिकहरुको अवस्थामा सकारात्मक परिर्वतन गरी सिंहदरवारको अधिकार गाउँगाउँमै सुनिश्चित गर्नेछौं ।
२. कर्मचारीहरुलाई राजनीतिबाट पूर्ण रुपमा मुक्त गरी ब्यवसायिकरण गरी पूर्ण रुपले नागरिकहरु प्रति उत्तरदायी रहने वातावरणको सृजना गर्नेछौं । 
३. हामी जनप्रतिनिधिहरु आम नागरिकहरुको प्रतिनिधि बनी पूर्ण रुपले उत्तरदायित्वमा रहने छौं । २४ सैं घण्टा आम नागरिकप्रति एकाकार हुनेछौं । 
४. कर्मचारीहरुको उच्च मनोबल राख्दै उनीहरुको सिप र क्षमतामा निखार ल्याउदै अधिकतम उपयोगमा ल्याउने छौं ।  पूर्णकाल काम गर्ने वातावरण सृजना गर्नेछौं । साथै दण्ड र पुरस्कारको ब्यवस्था मिलाउने छौं । 
५. आवश्यकता अनुसारको मात्र कर्मचारी ब्यवस्थापन गर्नेछौं । 
६. गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा हुने झण्झटबाट पूर्ण रुपले मुक्त गर्दै नागरिकहरुलाई सर्वसुलभ तथा छिटो छरितो सेवा प्रदान गर्नेछौं । 
७. आवश्यकता अनुसारको घुम्ती सेवा प्रदान गर्नेछौं । अति विकट समुदायलाई लक्षित गरी विशेष सेवा प्रदान गर्नेछौं ।
८. गुनासो र उजुरी पेटिकालाई गोप्य र सुरक्षित सूचना प्राप्त गर्ने व्यवस्था मिलाउने छौं । 
९. गाउँपालिका मार्फत् हुने विकास निर्माण र योजनाहरुको उपभोक्ता समिति गठन गर्दा पुर्व सूचना दिँदै सार्वजनिक रुपमा उपभोक्ताहरुको भेला गराई कार्यान्वयन हुने व्यवस्था मिलाउने छौं । र टेण्डर प्रक्रियालाई पनि जनविश्वास हुने गरी पारदर्शि ब्यवस्था मिलाउने छौं । 
१०. योजना तर्जुमा गर्दा र अनुगमन गर्न सर्वदलिय वा सर्वपक्षिय सहभागितालाई सुनिश्चित गर्नेछौं । 
११. गुणस्तरिय सेवा र गुणस्तरिय निर्माणको लागि विशेष खालको संयन्त्र गठन गरी प्रभावकारी कार्यान्वयन गर्नेछौं । साथै हाम्रालाई होइन राम्रालाई विशेष जोड दिनेछौं । 
१२. योजनै विच्छे वडागत रुपले सार्वजनिक सुनुवाई र बार्षिक रुपमा पालिका स्तरको सार्वजनिक सुनुवाई गर्ने व्यवस्था मिलाउने छौं । जसमा युवा, विद्यार्थी, पत्रकार, व्यवसायी लगायतका आम सरोकार राख्ने नागरिकहरु र नागरिक समाजलाई सहभागि गराउने छौं ।
१३. जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको चार पाङ्ग्रे सवारी साधनलाई पूर्ण रुपले अस्विकृत गरी नागरिकहरुका लागि निः शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने छौं । र दुई पाङ्ग्रे सवारी साधनलाई पनि मितब्ययी साथ उपयोगी गर्ने छौं । 
१४. गाउँ प्रहरीको गठन र सामुदायिक सेवालाई प्रभावकारी रुपले ब्यवस्थित बनाई कार्यान्वयन गरी शान्ति एवं सु–ब्यवस्था कायम गर्नेछौं । 
१५. ‘हेल्लो तादी गाउँपालिका’ मार्फत् सबैको सुझाव संकलन गरी प्राप्त समस्या एवं सुझावहरुको समाधानका लागि उचित संयन्त्रको निर्माण गर्नेछौं ।
१६. गाउँपालिकाले गर्ने सार्वजनिक बिकास तथा बित्तिय खर्चको तेश्रो पक्षले अनुगमन गर्न पाउने व्यवस्था मिलाउने छौं । 
१७. पालिका स्तरमा राष्ट्रिय योजना आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इकाई खडा गरी प्रभावकारी कार्यान्वयन गर्नेछौं । 
१८. वडा नं. ६ मा वडा कार्यालय नहुँदा नागरिकहरुलाई असहज भएको र संघीयताको मर्म विपरित सेवा प्रदान गर्दै आएकोले सबैलाई पायक पर्ने गरी वडा कार्यालय स्थापना गरी वडा सेवा प्रदान गर्नेछौं । 
सामाजिक विकासका कार्यक्रमहरु ः
१. जनप्रतिनिधि र कर्मचारीहरुलाई पूर्ण रुपमा नागरिकप्रति र नागरिकहरुलाई समाज रुपान्तरणको बाहकको रुपमा पूर्ण रुपले स्थापित गरिनेछ । जसले गर्दा हरेक विकास निर्माण तथा सामाजिक विकासमा नागरिकहरुले महशुस गर्न सक्ने गरी कर्तब्य र अधिकारको हक सुनिश्चि हुनेछ । 
२. ‘जेष्ठ नागरिकसंग अध्यक्ष’ कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वय गरिनेछ । साथै पालिका स्तरिय विशेष कार्यक्रम बनाइने छ । 
३. जेष्ठ नागरिक सम्मान, भ्रमण, स्वास्थ्य सेवा तथा संरक्षण जस्ता विशेष कार्यक्रमहरु बनाइने छ । 
४. जेष्ठ नागरिकहरुको उमेरगत रुपले बर्गिकरण र परिवारको आर्थिक तथा सामाजिक स्थितिको अध्ययन गरी छुट्टा छुट्टै योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने छ । 
५. पालिका स्तरमा सुविधा सम्पन्न असाहय तथा जेष्ठ नागरिक संरक्षण केन्द्र बनाइने छ । 
६. शारिरिक रुपमा अपाङ्गता भएका र मनोसामाजिक स्वास्थ्य समस्या भएका नागरिकहरुको पूर्ण लगत संकलन गरी विशेष योजनाका साथ कार्यक्रम बनाइने छ । 
७. शारिरिक रुपमा अपाङ्गता भएका र मनोसामाजिक स्वास्थ्य समस्या भएका नागरिकहरुको प्रकृति हेरी उनीहरुको क्षमताको आधारमा सिपको विकास गरी आत्म निर्भर गराउने व्यवस्था मिलाइने छ । 
८. मनोसामाजिक स्वास्थ्य समस्या भएका वा समाजबाट पछाडी पारिएका र अनाथ वा टुहुरा बालबालिकाहरुप्रति पूर्ण अभिभावकत्व लिई सम्मान, संरक्षण, उपचार वा मनोसामाजिक परामर्श कार्यक्रम ल्याइने छ । 
९. एकल पुरुषलाई मासिक भत्ताको ब्यवस्था गरिनेछ । 
१०. पालिका भित्र बसोवास गर्ने सबै परिवारलाई आर्थिक स्थितिको आधारमा चार तहमा विभाजन गरिनेछ । दैनिक काम गर्दापनि जीवनयापन गर्न मुस्किल हुने, औषत रुपले दैनिकी चलाइरहेका, पैतृक सम्पत्ति वा स्थायी आम्दानीको श्रोतबाट सजिलै जीवन यापन गरिरहेका र सुविधायुक्त जीवन शैली विताइरहेका यी चार आधारमा रही छुट्टाछुट्टै कार्यक्रम ल्याई समाज सुधार र अवसर प्रदान गरिनेछ । 
११. पालिका र स्थानीय नगारिकहरुको आर्थिक साझेदारीमा साना, मझौला तथा ठूला उद्योगहरुको स्थापना गरिनेछ । र प्रभावकारी कार्यान्वयमा ल्याइने छ । 
१२. पालिकाको संयन्त्रले विशेष योजना बनाई सामाजिक विकासको सूचांकको आधारमा दुई बर्षिया, पाँच बर्षिय र १० बर्षिय गुरुयोजना तयार गरी त्यसको आधारमा कार्यक्रम बनाई लक्ष हासिल गर्ने नीति बनाइने छ । 
१३. बिभिन्न कारणले देश वा गाँउ बाहिर रहेका आम नागरिकलाई आफ्नो ठाउँको लागि योगदान गर्ने तर्फ पहल गरिने छ । 
१४. पालिकाका हरेक नागरिकले बर्षको कम्तिमा ७ दिन गाउँको लागि अनिबार्य श्रमदान गर्ने ब्यवस्था गरिनेछ । 
१५. घरेलु हिंसाका कारणले सामाजिक रुपमा असुरक्षित भएका महिलाहरुका लागि पुर्नउत्थानका कार्यक्रम सञ्चालन गरिनेछ ।
१६. प्रजनन स्वास्थ्य समस्याका कारण दीर्घ बिरामी भएका महिलाहरु सम्वन्धित स्वास्थ्य केन्द्रको सिफारिसको आधारमा मासिक ५०००।– निर्वाह भत्ता प्रदान गरिने छ । 
१७. दुर्घटना, प्राकृतिक प्रकोप, विद्युतिय जोखिमका कारण शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष भत्ताको व्यवस्था गरिने छ ।   

स्वास्थ्य :
१. गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य हाम्रो मुल नारा रहनेछ ।
२. खरानीटार अस्पताललाई ५० बेडको अस्पताल बनाइ आइसियु, भेन्टिलेटर सहितको विशेषज्ञ सेवा प्रदान गरिने छ । 
३. ६ वटै वडाका स्वास्थ्य चौकीहरुमा एम्बुलेन्स उपलब्ध गराई स्वास्थ्य चौकीका सिफारिसमा अस्पतालसम्म निःशुल्क एम्बुलेन्सको ब्यवस्था मिलाइने छ । 
४. अस्पतालमा सुत्केरी गराउँदा हुने जोखिमबाट बचाउन आश्यकता अनुसार निःशुल्क एम्बुलेन्स वा हवाई सेवा प्रदान गरिने . 
५. दीर्घ रोगी र स्वास्थ्य समस्याका कारण थलिएकाहरुलाई घरमै गएर न्यूनतम स्वास्थ्य सेवा दिने व्यवस्था मिलाइने छ । 
६. आर्थिक अवस्था ज्यादै नै कमजोर भएका नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने छ । 
७. गाउँ गाउँमा स्वास्थ्य शिविरहरु सञ्चालन गरी निःशुल्क उपचारको ब्यवस्था मिलाइने छ । 
८. विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्ने गर स्वाथ्यकर्मी लगायतका अन्य प्राविधिक परिचालन गरिनेछ । 
९. तादी गाउँपालिकामा सञ्चालनमा रहेका तीन वटा आयुर्वेदिक औषधालयको उचित व्यवस्थापन र औषधिको उपलब्धताको ग्यारेन्टी गरिनेछ । साथै आर्युवेदिक अध्ययन केन्द्र र औषधि उत्पादन केन्द्रको रुपमा गाउँपालिकालाई विकास गरिने छ । 
 १०. विद्यालयमा निःशुल्क स्यानेटरी प्याड, आधारभुत उपचार लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिनेछ । 
११. घातक रोगहरुको उपचारका लागि विशेष कार्यक्रमहरु ल्याइने छ । 
१२. महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि छुट्टै संरचना बनाई तालिम, स्वास्थ्य भ्रमणको साथै मासिक भत्ताको ब्यवस्था गरिने छ । 
१३. स्वास्थ्य बीमालाई प्रभाकारी बनाइने छ । अतिविपन्न नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याइने छ ।
१४. एक वडा एक ‘आनन्द घर’ बनाई योगा, ध्यान, ब्यायाम आदि गर्ने ब्यवस्था मिलाइने छ । 

शिक्षा :
१. निःशुल्क र गुणस्तरिय शिक्षा हाम्रो नारा हुने छ । 
२. सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन विशेष कार्यक्रम ल्याइने छ । 
३. शिक्षकहरुलाई प्रोत्साहन गर्ने र दण्डित गर्ने दुवै कार्यक्रम संगसंगै ल्याइने छ । 
४. विद्यार्थीहरुको आधारमा जनशक्तिको उचित व्यवस्थापन गरिनेछ । 
५. संस्थागत विद्यालयलाई व्यवसायीक भन्दा पनि सेवामुखी बनाउन आवश्यक सहयोगको व्यवस्था गरिनेछ । 
६. कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ । 
७. सामुदायिक विद्यालयमा अध्ययन गरी गाउँपालिका भरीमा उत्कृष्ठ हुने एक छात्र र एक छात्रालाई हरेक वर्ष उच्च शिक्षा अध्ययनको लागि जनही ५÷५ लाख रुपैयाँ नगदको ‘तादीको तारा’ छात्रवृत्ति प्रदान गरिनेछ । 
८. पालिका स्तरमा एउटा पशु बिज्ञान र एउटा बाली बिज्ञान प्राविधिक आवाशिय विद्यालय स्थापना गरिनेछ । 
९. आवश्कयता अनुसार सामुदायिक विद्यलायहरु ‘मर्ज’ गरी विद्यालय बस सञ्चालन गरिने छ । 
१०. विद्यार्थीहरुको मुल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाइने छ । 
११. सबै शिक्षक तथा कर्मचारीहरुलाई उत्साहपुर्वक, गर्वका साथ विद्यालयमा काम गर्ने वातावरण बनाइने छ । 
१२. विद्यालय व्यवस्थापन समितिको गठन, भूमिका र उत्तरदायित्वको प्राज्ञिक व्यक्तिहरुसंग छलफल गरी विशेष ब्यवस्था गरिनेछ । 
१३. पुर्व विद्यार्थीहरुलाई आफुले अध्ययन गरेको विद्यालयलाई फर्केर हेर्ने वातावरणको सृजना गरिनेछ । 
१४. बिद्यालयबाटै शिपमुलक शिक्षाको ब्यवस्था गरी भाबी पुस्तालाई रोजगारयुक्त शिक्षा प्रदान गरिने छ । 
१५. यस पालिकाका सबै विद्यालयहरुमा हाम्रै एउटा एक सय पूर्णाङ्कको ‘हाम्रो तादी’ पाठ्यक्रम तयार गरी लागू गरिनेछ । 
 

माओवादी केन्द्र, तादी गाउँपालिका

कृषि 
१. उत्पादनको आधारमा जमिनको बर्गिकरण गरिने छ । 
२. माटो परीक्षण गरी पकेट क्षेत्र निर्धारण गरिनेछ । र सोही अनुसारको उत्पादनमा जोड दिइने छ । 
३. निर्भर खेती प्रणालीलाई सुधार गरी ब्यवसायीक खेती अवलम्बन गर्न कृषकहरुलाई प्रोत्साहन गरिने छ ।
४. उत्पादनको सहज विक्रिका लागि सहकारी मार्फत् बजारको व्यवस्था गरिनेछ । 
५. बर्षको एक पटक कृषि मेला प्रर्दशनी मार्फत् किसानलाई खेती प्रति आकर्षित गराइने छ । 
६. पशु स्वास्थ्य बीमा कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याई बीमा शुल्क ब्यहोरिने छ । 
७. ब्यवसायीक पशु पालक कृषकलाई विशेष अनुदानको ब्यवस्था मिलाइने छ । 
८. कृषि अनुदानको आधार र बर्गिकरण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गरिनेछ । 
९. कृषि र पशु पालन सम्बन्धी तालिम, गोष्ठि, अबलोकन भ्रमण सञ्चालन गरी सफल ब्यवसायी बनाउन प्रत्साहन गरिनेछ । 
१०. कृषि नै पालिकाको प्रमुख आधार हो भन्ने हिसावले पालिकाबाट वितरण गरिने बजेट, कार्यक्रमलाई बिशेष जोड दिई छुट्टै कार्यालय स्थापना गरी विज्ञहरुको परामर्शमा बहुबर्षिया योजना बनाई क्रमश कार्यक्रमहरु बनाइने छ । 
११. सामुहिक खेतीलाई विशेष प्राथमिकता दिई कार्यक्रम बनाइने छ । 
१२. जमिन बाँझो नराख्न विशेष कार्यक्रम बनाइने छ । 
१३. जंगली जनावरबाट बालिनाली सुरक्षित राख्न विशेष कार्यक्रम ल्याइने छ । 
१४. खेतीमा यान्त्रीकरण गरी कुल उत्पादनमा वृद्धि गर्ने कार्यक्रम बनाइने छ । 
१५. पालिका स्तरमा कम्तिमा एउटा शीत भण्डार (कोल्ड स्टोर) निर्माण गरिनेछ । 
१६. लिफ्ट सिञ्चाईं र थोपा सिञ्चाईंलाई प्राथमिकताका साथ कार्यक्रम बनाई लागू गरिनेछ । 
१७. सार्वजनिक जमिनहरुमा योजना बनाई जडिबुटी खेती र फलफुल खेती सञ्चालन गर्ने योजना बनाइने छ । यसका लागि कृषक समुहरुसंग सहकार्य गरिने छ । 
१८. यस गाउँपालिकाको गहिरो भू–भागको उत्पादन उच्च भु–भागका नागरिकसम्म र उच्च भु–भागको कृषि उत्पादन गहिरो भु–भागका नागरिकहरुले उपभोग गर्न पाउने र आफ्नो कृषि उत्पादन सट्टापट्टा गर्न पाउने व्यवस्था मिलाइने छ । 
१९. बिउविजन, मलखाद लगायतका किसानलाई अत्यावश्यक सामाग्रीहरुको बेलैमा सर्वसुलभ मुल्यमा उपलब्ध गराउन प्रतिवद्ध रहने छ । 
२०. कृषि प्राविधिक अध्ययन गरी गाउँमै बसेर सेवा दिन प्रतिबद्ध हुने विद्यार्थीलाई विशेष छात्रवृत्ति वा शुन्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने छ । 
२१. कृषि सहकारीलाई व्यवस्थित रुपले सञ्चालन, प्रर्बद्धन र विकास गर्नका लागि आक्रमण कार्यक्रम मार्फत् सहयोग गरिने छ । 
२२. समयमै मल, विउविजन, कृषि औजार, कृषि उत्पादनहरुको संकलन र बजार ब्यवस्थापन गरी किसानसंगै सहकारी विशेष नीति तथा कार्यक्रम अबलम्वन गरिनेछ । 
२३. तरकारी, फलफुल, मासु, दुध लगायतका सामाग्री ओसारपसार गर्न यातायातमा सहकारी मार्फत् कार्यान्वयनको लागि विशेष सहयोग अनुदान रकम उपलब्ध गराइने छ ।
२४. पालिकाको केन्द्रमा कृषि सेवा केन्द्र रहने र वडा नं. ५ साविकको नर्जामण्डप वडा नं. १, वडा नं. २ र वडा नं. ४ को माथिल्लो भागलाई पायक पर्ने गरी कृषि सेवा केन्द्र, उपकेन्द्रबाट कृषि तथा पशु पालनलाई लक्षित विज्ञ सहितको सेवा प्रदान गरिनेछ ।  

खानेपानी तथा सरसफाई :
१. सफा र स्वच्छ खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता रहने छ ।  
२. पानीको श्रोत नभएको ठाउँमा डिप बोरिङ्ग मार्फत् खानेपानी उपलब्ध गराउने छौं । 
३. पाँच वर्ष भित्रमा सबै घरमा मिटर धारो जडान गरिने छ । 
४. सार्वजनिक सेवा प्रदायक संस्थाहरुबाट स्वच्छ पिउने पानीको निःशुल्क ब्यवस्था मिलाइने छ । 
५. सार्वजनिक शौचालय निर्माण गरी ब्यवस्थित र नमूना रुपमा सञ्चालन गरिने छ । 
६. स्वास्थ्य सरसफाईलाई विभिन्न खाले जनचेतनामुलक कार्यक्रम बनाई प्रभावकारी कार्यान्वय गरिनेछ । 
७. पानीका स्थानीय मुल तथा मुहान संरक्षण गर्न विशेष कार्यक्रम बनाइने छ । 
८. हरेक परिवारले हरित भत्ताको रुपमा प्रती रुख वार्षिक भत्ता दिने व्यवस्था मिलाउनका लागि आवश्यक प्रक्रियाको सुरुवात गरिने छ ।

पर्यटन 
१. बाघमार पर्यटन गुरुयोजना बनाई बाघमार देखि राहुचुली र गोसाइँकुण्डसम्मलाई मध्यनजर गर्दै नेपालकै उत्कृष्ठ स्थल बनाई आन्तरिक तथा बाह्य पर्यटक आगमनको स्थानका रुपमा विकास गरिनेछ ।  
२. छ वटै वडामा एक÷एक वटा पार्क र पालिका स्तरमा संग्राहलय सहितको विशेष पार्क निर्माण गरिने छ । 
३. आन्तरिक पर्यटकको जिल्लामै उत्कृष्ठ गन्तब्य बनाउनका लागि वडा नं. ५ र ६ को संगमस्थल बच्छलादेवी मन्दिर परिषर ‘पारिजात पार्क’ को रुपमा विकास गरिने छ । 
४. यस पालिकाको ६ वटै वडामा होम स्टे सञ्चालन गर्ने र आन्तरिक पर्यटकलाई एक दिनको वडा भ्रमण गर्ने प्याकेज तयार गरी एक रात होम स्टेमा राख्ने कार्यक्रमलाई अगाडी बढाइने छ । 

धर्म÷कला÷संस्कृति :
१. सबै धर्म र संस्कृतिलाई विशेष रुपले सम्मान र संरक्षण गरिने छ । 
२. स्थानीय कला र संस्कृतिको प्रवद्र्धन गरी राष्ट्रिय स्तरमा पालिकाको परिचय दिने खालको कार्यक्रम ल्याइने छ । 
३. पालिका स्तरमा बैदिक गुरुकुल, विद्याश्रम र गुम्बा विद्याश्रमको स्थापना गरिने छ । 
४. स्थानीय स्तरका कलाकारहरुलाई विशेष कार्यक्रम बनाई राष्ट्रिय स्तरको कलाकार उत्पादनको कार्यक्रम ल्याइने छ । 
५. तादी गाउँपालिका भित्रका ऐतिहासिक तथा संस्कृति बोकेका गुम्बाहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याइने छ ।     

युवा तथा खेलकुद :
१. स्वास्थ्यका लागि खेल मुल नारा हुने छ । 
२. खरानीटार स्थित खेलमैदानलाई पालिकास्तरिय खेल मैदान बनाउन प्याराफिट निर्माण सहित अन्य भौतिक पुर्वाधारको विकास गरिने छ ।
३. पालिकाका ६ वटै वटाहरुमा १÷१ वटा सुविधासम्पन्न र व्यवस्थित खेलमैदान निर्माण गरिने छ । 
४. पालिका स्तरिय कवर्डहल निर्माण गरिनेछ । 
५. पालिकाबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न विशेष कार्यक्रम ल्याइने छ । 
६. राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा किर्तिमान कायम गर्ने पालिका भित्रका खेलाडीहरुलाई उचित सम्मान सहति पुरस्कृत गरिनेछ । 

 

माओवादी केन्द्र, तादी गाउँपालिका

सडक यातायात 
१. पालिका भित्रका सडकलाई तीन भागमा विभाजन गरी उन्नती र संरक्षण गरिनेछ । 
२. छ वटै वडा कार्यालयहरुमा १२ महिना नै यातायात सहज सञ्चालन हुने गरी सडक पिच र ढलान गरी पक्की गरिनेछ । 
३. कृषि ब्यवसाय र उद्योगहरुलाई लक्षित गरी सडक यातायात सहज तुल्याउन उपभोक्ता र पालिका साझेदारी कार्यक्रम मार्फत सडक यातायातलाई ब्यवस्थित पारिने छ । 
४. गाउँपालिकाभित्र बाह्रै महिना यातायात सञ्चालन हुने गरी चक्रपथ तयार गरिने छ । 
५. पालिका–वडा सर्वसुलभ यातायातको व्यवस्था मिलाइने छ । 
६. विद्युतिय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्नका लागि पालिका स्तरमा कम्तिमा एउटा विद्युतिय स्टेशन निःशुल्क सेवा पाउने गरी स्थापना गरिनेछ ।  
 
विविध 
१. वित्तिय सेवा प्रदान गर्न खरानीटार बाहेक अन्य वडाबाट प्रभावकारी कार्यान्वयन गर्न योजना निर्माण गरिने छ । 
२. पालिका स्तरमा एक उत्पादन गर्न उद्योग÷धन्दाको लागि पालिका सामुदायिक साझेदारी मार्फत आवश्यक योजना बनाइने छ । 
३. पहिलो वर्ष ३०० जना, दोश्रो वर्ष ६०० जना, तेश्रो वर्ष ९०० जना, चौथो वर्ष १२०० जना र पाँचौ वर्ष १५०० जना व्यक्तिहरुलाई बाह्रै महिना रोजगारीको ब्यवस्था गरिनेछ । 
४. सिप विकास कार्यक्रम, लघु उद्योग तथा अबलोकन भ्रमण मार्फत् ब्यापक रुपमा कार्यक्रम बनाई जीविकोपार्जनमा टेवा पुग्ने कार्यक्रमहरु बनाइने छ । 
५. स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग लगायतको विकास र प्रवद्र्धनका लागि विज्ञहरुको भेला गराइ सुझावको आधारमा विशेष योजना बनाइने छ । हामी सबैको साझा उत्तरदायित्व हो भन्ने भावको बिकास गराई उचित सम्मान र अवसर प्रदान गरिनेछ ।   
६. करलाई ब्यवस्थित गरी पारदर्शी रुपले सञ्चालन गरिने छ । 
७. गाउँपालिकाको समग्र विकासको लागि पालिकाकै डिपिआर तयार गरी पाँच वर्षे, १० वर्षे र २० वर्षे गुरु योजना बनाई राष्ट्रिय योजना आयोगसंग स्वीकृती लिई सोही अनुसार कार्यक्रम बनाइने छ । 
८. संघीयता र गणतन्त्र प्राप्तिको लडाईंमा शाहदत प्राप्त गर्नुहुने सहिदहरुको सम्झनामा प्रत्येक वडामा सहिद स्मारक पार्क निर्माण गरिने छ । 
९. ‘हाम्रो गाँउ हाम्रो सांकृतिक केन्द्र’ बनाई सभ्य सामाजिक कला र मनोरञ्जन प्रदान गरिने छ । 
१०. गाउँपालिकामा कक्षा ९ देखी १२ सम्मका विद्यार्थी मार्फत हरेक बर्ष जनगणना अध्यावधी गरिने छ । 
११. हरेक परिवारले निःशुल्क हेर्न पाउने ‘हाम्रो तादी’ टेलिभिजन र रेडियो प्रसार गरिने छ । 
१२. हरेक हप्ता +२ देखी माथिका विद्यार्थी ले ‘हाम्रो धर्ती’ अभियान अन्तर्गत सामाजिक र बिकास सवालमा एक घण्टा काम गर्नु पर्ने नियम बनाइने छ । 
१३. गाउँपालिकाका सबै बच्चालाई आमा बुवाले, विद्यार्थीलाई शिक्षकले, बिरामीलाई सेवाप्रदायकले, जनतालाई प्रतिनिधिले बुझ्ने अबस्थाको सृजना गरिने छ । 
१४. गाउँपालिकाले नै भू–सेवा केन्द्र स्थापना र सञ्चालन गरी जिल्ला मालपोत कार्यालय नुवाकोटबाट हुने कामलाई निःशुल्क, छरितो र अनलाइन प्रणालीबाट गराई, जग्गा जमिन खरिद गर्ने नागरिकहरु जग्गाधनी पुर्जा लिन मात्र मालपोत कार्यालय जाने व्यवस्था मिलाइने छ । 
१५. यस पालिकामा रहेको इलाका प्रशासन कार्यालय सातविसेले प्रदान गर्ने सेवा सुविधा बृद्धि गरिने छ । अहिले हप्ताको दुई दिन मात्रै इलाका प्रशासन कार्यालयबाट काम भइरहेकोमा त्यसलाई सबै दिन सेवा लिने गरी विस्तार गरिनेछ । 
    यी हाम्रा मुलभुत प्रतिबद्धता हुन् । यसका अतिरिक्त सम्वन्धित क्षेत्रका विज्ञ र नागरिकहरुबाट आएका सुझावलाई सम्वोधन गर्दै सम्वृद्ध तादी निर्माणको महा–अभियानमा समर्पित हुने प्रतिज्ञा गर्दछौं । त्यसैले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडामा मतदान गरी सम्पूर्ण उम्मेदवारहरुलाई बिजयी गराउन सम्पुर्ण तादी गाउँपालिकावासीहरुमा हार्दिक आब्हान गर्दछौं ।  

माओवादी केन्द्र, तादी गाउँपालिका