मेयर माला खादा र सम्मान थाप्नै व्यस्त, वडा अध्यक्षले आफ्नै खर्चमा पुरा गरे प्रतिवद्धता

नुवाकोट न्यूज
२०७९ जेष्ठ २८, शनिबार

आफ्नै नगरपालिकाको मेयर राजन श्रेष्ठ चुनाव जितेको भोज भतेर, माला खादा र सम्मानमै व्यस्त भैरहँदा एक वडा अध्यक्षले भने आफ्नै व्यक्तिगत लगानीमा आफ्नो चुनावी प्रतिवद्धता पुरा गरिसक्नुभएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ का अध्यक्षले आफ्नै व्यक्तिगत खर्चमा खानेपानीको समस्याको समाधान गर्नुभएको हो ।
निर्बाचित भएको केहि दिनमै वडा अध्यक्ष दिपक कायस्थले बर्षौदेखी खानेपानीको समस्या भोग्दै आएका वडाबासीको समस्याको समाधान आफ्नै व्यक्तिगत खर्चमा गर्नुभएको छ ।
चुनावी अभियानमा भोट माग्ने क्रममा मतादाताको घरदैलोमा पुग्दा देखेको खानेपानीको समस्यालाई सामाधान गर्ने प्रतिबद्धता जनाउनुभएका वडा अध्यक्ष कायस्थले जितेको केहि दिनमै खानेपानीको समस्या समाधान गर्नुभएको छ ।
सुर्यगढी गाँउपालिकाको सिप्लिघान मुहान गरी विदुरको नुवाकोट क्षेत्रसम्म ल्याईएको खानेपानीबाट ३ सय भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
चुनाव जितेपछिको भोज भतेर जस्ता अनावश्यक खर्च नगरी नागरिकहरुको दैनिक जिवनमा परेको समस्याको समाधान तर्फ आफु लागेको वडा अध्यक्ष कायस्थले बताउनुभएको छ ।

सिप्लिघान मुहान गरी नुवाकोट क्षेत्रसम्म लाग्ने ६३ र ५० ईन्च साईजको पाइप र सम्पुर्ण फिटिङका सामग्रीहरु उपलब्ध गराएको उहाँले बताउनुभएको छ ।
वडाबासीको समस्याको समाधानको लागी कुनैपनि कसुर बाँकी नराख्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । वडा अध्यक्ष कायस्थ नेकपा एमालेबाट निर्बाचित हुनुभएको हो ।