ककनीलाई रोजगारमुखी बनाउने नीति तथा कार्यक्रम ल्याईने
प्रभा ढुङ्गाना
२०७९ असार १३, सोमबार

ककनी गाँउपालिकाका अध्यक्ष सुमन पाख्रिन सज्जनले ककनीलाई रोजगारमुखी बनाउनको लागी विभिन्न नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
गाँउपालिकाको रोजगार सेवा केन्द्रले आयोजना गरेको अभिमुखीकारण कार्यक्रममा अध्यक्ष पाख्रिनले ककनीबासीलाई आत्मनिर्भर बनाउन पासाङल्हामु राजमार्ग प्रमुख मेरुदण्ड रहेकाले छिटोभन्दा छिटो सडक निर्माणका लागी पहल गरिने बताउनुभएको छ ।
लामो समयदेखी विभिन्न कारणले निर्माण रोकिएको सडकका कारण सामान्य ब्याबसायका लागि पनि ठूलो समस्या झेल्नुपरेको उहाँले बताउनुभएको छ ।
कार्यक्रम मार्फत रोजगार सेवा केन्दले रोजगार सृजना गर्ने विभिन्न स्रोतहरु देखाएकाले ककनीलाई आत्मनिर्भर बनाउनमा आफु केन्द्रित रहने बताउनुभएको छ । ककनीलाई कृषिमुखी बनाउन माछापालन, स्ट्रबेरी खेती, अन्य उत्पादनमार्फत आर्थिक विकास गराउने र कुनै पनि जग्गा जमिन बाँजो राख्न नपाउने नितीमा आफु लागेको उहाँले बताउनुभएको छ ।

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष मिठ्ठुमाया लामाले ककनि गाउँपालिकामा के कति बेरोजगार रहेका छन् अनुगमन गरि रोजगारको अवसर जुटाउन र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकतामा राख्नुुपर्ने बताउनुभएको छ ।
यसैगरी, वडा नम्बर ८ का अध्यक्ष शेषमान लामाले दिगो विकासका लागि गर्नुपर्ने कुराहरुमा जोड दिई सडकलाई प्रमुख रुपमा लिएर उत्पादन क्षमतामा अभिबृद्धी गर्नुपर्ने, उत्पादन गरिनुका साथै बजारिकरण गर्न प्रोत्साहन गरेमा ककनी आफैमा आत्मनिर्भर हुनसक्ने बताउनुभएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका बिज्ञ युवराज बस्नेतले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, वडा सचिव, कार्यपालिकाका कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
