आफैमा उन्मक्त नेताका दासहरु !!

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७७ कार्तिक १४, शुक्रबार

नेताका दासहरु

आफ्नै मगजको कैदी बनेर,

चिथोर्दैछ भित्तो कोतर्दैछ छानो,

मुसो बनेर हुंकार्दैछ दुलो भित्रबाट,

आफैमा उन्मक्त नेताका दासहरु !!

परिवर्तन बुझेनन् ,

उपलब्धि देखेनेन,

सलामी ठोक्दैछन मालिकहरुलाई अनि गर्वका साथ,

खण्डहरबाट ङिच्च हाँस्दैछन, नेताका दासहरु !!

भत्की ढलेको छ मानवताको धरोहर,

लुटिएको छ ममतामयी न्यानो काख,

च्यातिएको छ प्रेमिल मजेत्रो,

बाँकी छ केवल वैंशले उन्मत्त कालो रात !!

मार्क्सको खास्टोमा दाग लगाएर,

बिपिको नितिमा धब्बा पोतेर,

समाजवाद र समृद्धिको भजन जप्दैछन,

आफै भित्र हराएका नेताका दासहरु !!

गुमेको सिमाना भित्र बसेर,

ढलेको स्वाभिमान भित्र रम्दै,

आफ्नै आत्मसम्मान गुमाएर,

ङिच्च हाँस्दैछन नेताका दासहरु !!

गर्भ मै गुटबन्दी सिकेका सन्तानहरु,

जन्मिदै दलाली जानेका नेपालीहरु,

छोरी-चेली बेचेर गर्व गर्ने बाबुहरु,

बिटो थापेर खिस्स हाँस्दैछ नेताका दासहरु !!

२१ औं शताब्दीका निर्लज्ज दासहरु !!

टुट्ने छ भरोसा एकदिन,

गुम्नेछ धरोहर एकदिन,

छुट्नेछ साथ एकदिन, अनि ...

अनि,

यसरी नै झुन्डिनेछन

अर्कोदिन,

नेताका दासहरु !! नेताका गुलामहरु !!

राम चन्द्र तिम्सिना (आवाज)