कोरोना लागेका व्यक्तिसँग कति दिन अगाडि सम्पर्क भए जोखिम?

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख २६, आईतबार

मास्क, कोरोना

मानिलिउँ, तपाईंको अफिसमा सँगै काम गर्ने साथीलाई कोरोना पोजेटिभ देखियो। तपाईं कुनै न कुनै रूपमा त्यो साथीको सम्पर्कमा आउनुभएको थियो। यस्तो अवस्थामा के तपाईंलाई पनि भाइरस सरेको हुन सक्छ?

कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन्?

अब मानिलिउँ, तपाईंलाई संक्रमणको शंका लाग्यो वा परीक्षण गराउँदा पोजेटिभ नै देखियो। यस्तो अवस्थामा होम आइसोलेसनमै बस्न चाहनुहुन्छ भने तपाईंले के–के कुरामा ध्यान दिनुपर्छ?

अहिले हामी निषेधाज्ञाबीच पनि तरकारी वा अन्य सरसामग्री किन्न बिहान–बेलुकी पसल गइरहेका छौं। यसरी पसल गएर तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सर्दैन?

कोरोना महामारी बेला यस्ता प्रश्नमा सर्वसाधारणलाई ठूलो चासो हुन्छ।

पोहोर सांसद गगन थापाले फेसबुक संवादका क्रममा यस्तै प्रश्न सरूवारोग विशेषज्ञ डा. अनूप सुवेदीसँग सोधेका थिए।

सबभन्दा पहिला संक्रमित व्यक्तिसँग कति दिनअगाडि सम्पर्क भएको व्यक्तिले सतर्क हुनुपर्छ भन्ने कुरा गरौं।

डा. सुवेदीले यसमा दुइटा कुरा औंल्याए।

पहिलो, लक्षण देखिनुभन्दा ४८ घन्टा अगाडिबाट संक्रमण सर्ने डर हुन्छ। भन्नुको मतलब, कसैलाई आज लक्षण देखिएको हो भने उसले आजभन्दा ४८ घन्टा अर्थात् दुई दिन अगाडिदेखि अरूलाई भाइरस सार्न सक्छ।

दोस्रो, कुनै व्यक्तिमा लक्षण देखिएको छैन तर परीक्षण गर्दा पोजेटिभ आयो भने उसले स्वाब झिक्नुभन्दा ४८ घन्टा अर्थात् दुई दिनअघिबाट संक्रमण सार्ने सम्भावना हुन्छ।

'हामी जनस्वास्थ्यमा यिनै दुइटा आधार मानेर काम गर्छौं,' डा. सुवेदीले भने।

उनले अझ विस्तार लगाए, 'तपाईंले कुनै साथीलाई एक साताअघि भेट्नुभएको थियो। त्यो साथीलाई हिजोदेखि ज्वरो आउन थाल्यो र आज परीक्षण गर्दा पोजेटिभ देखियो भने तपाईं डराउनुपर्दैन। तर, त्यो साथीलाई दुई दिनअघि मात्र भेटेको हो भने अब तपाईं पनि जोखिममा पर्नुभयो। तपाईंलाई पनि सरेको हुनसक्छ। यस्तो अवस्थामा तपाईंले आफ्नो पनि परीक्षण गराउनुपर्छ।'

यति हुँदाहुँदै त्यो संक्रमित साथीलाई परैबाट हाइ-हेलो गरेको हो भने डराउनु पर्दैन।

तर तपाईंले संक्रमित व्यक्तिसँग ६ फिट दुरीमा रहेर १५ मिनेट बिताउनुभयो भने तपाईं जोखिममा पर्नुभयो। तपाईंले ३ फिटकै दुरीमा बसेर गफ गर्नुभएको छ, तर ५ मिनेट मात्र बिताउनुभएको छ भने तपाईंलाई जोखिम कम हुन्छ।

'अर्को कुरा, तपाईंहरू दुवैले मास्क लगाउनुभएको छ भने जोखिम अझै कम हुन्छ,' उनले भने।

उनको यो कुराबाट के थाहा हुन्छ भने, संक्रमित व्यक्तिसँग कति दिनअगाडि कति समय बिताएको थियो, कति दुरीमा बसेको थियो, मास्क लगाएको थियो कि थिएन, हात मिलाएको थियो कि थिएन लगायत कुराले जोखिम निर्धारण गर्छ।

'यसबाट हामीले व्यक्तिगत दुरी कायम राख्नु र मास्क लगाउनु कति जरूरी छ भन्ने बुझ्नुपर्छ,' उनले भने, 'हामी नेपालीहरूले मास्कको सवालमा खरो व्यवहार देखाउनैपर्छ। आफूले जतिसुकै मान्नुपर्ने मान्छे भए पनि तपाईं कृपया मास्क लगाउनुस् अनि मात्र हामी कुरा गरौं भन्न सक्नुपर्छ। कसैले नाकमुनि मास्क लगाएको छ भने उसलाई राम्ररी लगाउनुस् नभए म तपाईंसँग कुरा गर्दिनँ भन्नुपर्छ।'

अब हामी कुरा गरौं, होम आइसोलेसनमा बस्दा ध्यान दिनुपर्ने कुराहरूको।

डा. सुवेदीका अनुसार आइसोलेसनका दुइटा प्रयोजन छन्— एउटा, आफूलाई संक्रमण भएको छ भने लक्षण बढ्दै गएको छ कि छैन भनेर निगरानी गर्ने। अर्को, त्यसले अरू मान्छेलाई सर्ने सम्भावना नहोस् भनेर ख्याल राख्ने।

होम आइसोलेसनमा बस्दा यी दुवै कुरामा ध्यान दिनुपर्छ।

आफूलाई संक्रमणको लक्षण बढ्दै गएको छ कि छैन भनेर हेर्न नियमित ज्वरो नाप्ने गर्नुपर्छ। सँगसँगै, रगतमा अक्सिजनको मात्रा ठीक छ कि छैन भनेर बेलाबेलामा अक्सिमिटरले नापिरहने। र, अरू लक्षण कत्तिको देखिएका छन् भनेर पनि अनुगमन गरिरहनुपर्छ।

अक्सिजन सहज रूपमा नाप्ने अक्सिमिटर औषधि पसलहरूमै किन्न पाइन्छ। अक्सिमिटर प्रयोग गरेर दिनको दुई–तीनचोटि नाप्नुपर्ने उनी सुझाउँछन्।

'रगतमा अक्सिजनको मात्रा ९४ वा त्योभन्दा माथि छ भने हामी नर्मल भन्छौं। ९३ वा त्योभन्दा कम आए अक्सिजन कम भयो भनिन्छ,' उनले भने।

कोभिड र अरू रोगमा अक्सिजन घट्दा देखिने लक्षण पनि फरक भएको उनले बताए।

'अरू रोगमा सास फेर्न गाह्रो हुँदै गएपछि अक्सिजन घटेको थाहा हुन्छ। कोभिडमा भने तपाईंलाई सास फेर्न गाह्रो भइसकेको हुँदैन, तर अक्सिजन कम भइसकेको हुन सक्छ। यसमा अक्सिजन निकै कम भइसकेपछि मात्र लक्षण देखिन सक्छ। यस्तो बेला अस्पताल जाँदा ढिलो हुन सक्छ,' उनले भने।

यो पनि पढ्नुहोस्ः कोरोना लागेकालाई ५ देखि १० दिनको समय 'क्रिटिकल'

होम आइसोलेसनमा बस्दा कोठा कस्तो छ भन्ने पनि महत्वपूर्ण हुन्छ।

संक्रमणको शंका भएका वा लक्षण देखिएका बिरामी होम आइसोलेसन बस्ने हो भने एक्लै कोठामा बस्ने सुविधा हुनुपर्छ। त्यो कोठामा अरू मान्छे आउन नपर्ने व्यवस्था हुनुपर्छ। कोठामा राम्ररी हावा खेल्न सक्ने गरी झ्याल हुनुपर्छ।

'त्यो कोठा अर्को मान्छेले प्रयोग गर्नु हुँदैन। कुनै कारणले त्यहाँ छिर्नुपर्‍यो भने एकदमै थोरै समय बस्नुपर्छ र दुवैले मास्क लगाउनुपर्छ,' उनले भने।

शौचालय, बाथरुम र हातमुख धुने ठाउँ पनि कोठाभित्रै हुनुपर्ने र एक्लैले प्रयोग गर्नुपर्ने उनले बताए।

'सबैकहाँ यस्तो सुविधा नहुन सक्छ। शौचालय, बाथरुम अरू मान्छेले पनि प्रयोग गर्नुपर्‍यो भने विशेष होसियारी अपनाउनुपर्छ। मास्क लगाएर मात्र जानुपर्छ। सरसफाइमा विशेष ध्यान दिनुपर्छ,' उनले भने, 'अहिले बजारमा डिस्इन्फेक्टेन्ट झोलहरू पाइन्छन्। संक्रमित वा संक्रमणको शंका भएका व्यक्तिले शौचालय वा बाथरुम प्रयोग गरिसकेपछि धाराहरू डिस्इन्फेक्ट गर्नुपर्छ।'

उनले यो पनि भने, 'नेपालीका लागि होम आइसोलेसन जटिल छ। जसको घरमा एउटा मात्र शौचालय–बाथरुम छ र सबैले त्यही प्रयोग गर्नुपर्छ भने उनीहरूका लागि होम आइसोलेसनमा बस्न सजिलो छैन।'

यति मात्र होइन, होम आइसोलेसनमा बस्दा अस्पताल नजिक छ कि छैन भन्ने पनि ख्याल राख्नुपर्छ।

बिरामीलाई अक्सिजन कम हुनेबित्तिकै बढीमा आधा घन्टाभित्र अस्पताल पुगिसक्नुपर्छ। त्यसैले, अस्पताल टाढा भएका घरमा होम आइसोलेसनमा बस्नु राम्रो विकल्प नभएको उनी बताउँछन्। दुर्गम हिमाली वा पहाडी भेगमा पनि अस्पताल टाढा हुने हुँदा होम आइसोलेसनमा नबस्न उनी सुझाउँछन्।

सामुदायिक आइसोलेसनमा बस्दा वा व्यक्ति आफैं कुनै होटलमा गएर आइसोलेसन बस्दा पनि यी कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

'लक्षण देखिएको छैन तर परीक्षण गराउँदा पोजेटिभ आयो भने के गर्ने? तत्काल अस्पताल गइहाल्ने हो कि?'

डा. सुवेदी यसको जवाफमा भन्छन्, 'परीक्षण पोजेटिभ आयो भने माथि भनेजस्तै आफ्नो स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्‍यो। ज्वरो आएको छ कि छैन, अक्सिजन कम भएको छ कि छैन र अरू लक्षणहरू देखिएका छन् कि छैनन् भनेर आफूले आफैंलाई नियमित अनुगमन गर्नुपर्‍यो। अक्सिजन कम भयो वा ज्वरो धेरै आउन थाल्यो भने अस्पताल गइहाल्नुपर्‍यो।'

'यस्तो अवस्थामा व्यक्तिले आफ्नो मात्र ख्याल राखेर भएन, आफूबाट अरूलाई संक्रमण नसरोस् भनेर पनि उत्तिकै सतर्क हुनुपर्‍यो,' उनले भने, 'होम आइसोलेसनमा बस्न माथि भनेजस्तै सुविधाहरू छन् कि छैनन् विचार गर्नुपर्छ। छ भने घरमै बसे हुन्छ। नभए सरकारले भनेको ठाउँमा वा आफैंले व्यवस्था गरेर छुट्टै ठाउँमा आइसोलेसनमा बस्नुपर्छ।'

धेरै मान्छे कोरोना परीक्षण गराउँदा पोजेटिभ आयो भने मात्र सतर्क हुन्छन्। डा. सुवेदी भने स्वाब परीक्षण गर्न दिएपछि नै सतर्कता अपनाउनुपर्ने बताउँछन्।

'कोही मान्छे परीक्षण गर्न जानु भनेकै कुनै कारणले आफू संक्रमित भएको डर लागेर हो। यस्तोमा नतिजा पर्खने सवालै आउँदैन। स्वाब दिन गएपछि नै ऊ अरूबाट पन्छिएर बस्नुपर्छ,' उनले भने।

अब हामी तेस्रो विषयमा कुरा गरौं – तरकारी, फलफूल वा अन्य खिद्रीमिद्री किन्दा त्यो सामानबाटै कोरोना सर्छ कि सँदैन?

यसमा डा. सुवेदी भन्छन्, 'सामानबाट सिधै कोरोना सर्ने होइन। किन्ने वा बेच्ने व्यक्तिले मास्क लगाएको छैन र दुईमध्ये एक जना संक्रमित छ भने उनीहरूले सास फेर्दा नाक-मुखबाट निस्किएका छिटाबाट सर्ने हो।'

उनका अनुसार ९५ प्रतिशत मान्छेलाई संक्रमित छिटाहरूबाटै संक्रमण भएको छ।

'हामीले किन्ने सामानमा संक्रमित व्यक्तिको सासको छिटा परेको छ र त्यो सामान हामीले छोएर त्यही हातले नाकमुख छुँदा पनि कोरोना सर्न सक्छ। तर यसरी सर्ने सम्भावना एकदमै कम हुन्छ,' उनले भने।

यस्तो खालको संक्रमणबाट बच्न किनमेलमा जाँदा मास्क लगाएर मात्र जानुपर्छ। बिक्रेताले पनि राम्ररी मास्क लगाउनुपर्छ।

'पसलबाट किनेर ल्याएको तरकारी, फलफूल पखाल्दा वा काट्दा नाकमुख छुनु हुँदैन। पखालेपछि वा काटेपछि हात राम्ररी धुनुपर्छ,' उनले भने, 'पकाउने बेला त तातोले भाइरस मरिहाल्छ।'

डा. सुवेदीले कोरोना संक्रमणबाट बच्न जापानको अनुभवले तयार पारेको एउटा फर्मुलाको पनि चर्चा गरे।

त्यो फर्मुला हो– थ्रीसी।

पहिलो– भीडभाडबाट टाढै बस्ने (क्राउड)। जति धेरै भीडभाड भयो, संक्रमण फैलिने डर उति बढी हुन्छ।

दोस्रो– बन्द कोठामा नजाने (कन्फाइन)। हावा खेल्ने सुविधा नभएको बन्द कोठामा मान्छेले सास फेर्दा त्यसका छिटा हावामा धेरै समय तैरिरहन्छन्। यसले संक्रमणको जोखिम बढी हुन्छ।

तेस्रो– नजिक–नजिक नबस्ने (क्लोज कन्ट्याक्ट)।

'हामीकहाँ सबभन्दा बढी संक्रमण सर्ने भनेको मान्छेहरू नजिक–नजिक बसेर हो। अरू बेला मास्क लगाउनेहरू पनि सँगै बसेर चिया पिउँदा मास्क खोल्छन्। त्यस्तो बेला भाइरस सर्ने जोखिम बढी हुन्छ,' उनले भने।

'हामीले अहिलेसम्म खोक्दा वा हाच्छियूँ गर्दा भाइरसका कणहरू निस्कन्छन् भन्ने सुनेका छौं। तर, ठूल्ठूलो स्वरले बोल्दा पनि भाइरसका कणहरू निस्कन्छन्। त्यसैले, जतिसक्दो अरूसँग दुरी राख्नुपर्छ। सँगै बसेर खाजा खान हुँदैन,' उनले भने।

(यो स्टोरी सेतोपाटीमा पहिलोपटक २०७७, भदौ ८ मा प्रकाशित थियो।)