कोभिड १९ महामारीका बिच महान पर्व इदुल फित्र

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ बैशाख ३१, शुक्रबार

इदुल फित्र, रमजान,  रोजा, उपसना

- सल्मा बेगम , काठमाडौ

इस्लाम धर्मालम्बीहरुको महान पर्व इदुल फित्र एक महिना लामो रमजानको रोजा (उपसना) पछिको अन्तिम दिन रोजा तोडेर हर्ष उल्लासका मनाइने पर्व हो ।जहाँ इदको अर्थ हुन्छ उत्सव या पर्व र उलफितर को अर्थ उपहास तोडनु ।

इदुल फित्र विशेषगरी इस्लामिक पात्र अनुसार दसौं महिनाको पहिलो दिन (साबल) जुन नबौ महिना रमजान को अन्त्य सङै आकासमा नयाँ अर्धचन्द्रमा उदाएपछी इदुल फित्र सुरु भएको मानिन्छ । समान्यतया रमजान महिनाको २९ या ३० औ रोजापछी नै इद मनाउने चलन छ । यसैगरी अल्लाहका नबि (स) ले भन्नूहुन्छ “महिना २९ दिनको पनि हुनसक्छ, त्यसैले तिमीहरु रमजान महिनाको चन्द्रोदयलाई हेरेर रोजा राख र चन्द्रोदयलाई हेरेर रोजाको महिना समाप्त गर, यदि बादल छायो र चन्द्रोदय देख्न सकेन भने गन्ती को ३० दिन पूरा गर (मुस्लिम २३६८)
इदपर्व निश्चयनै एक महिना कठोर उपबास पूरा गरेका मुस्लिमहरुको लागि नया सुरुवाती दिन हो, जुन लामो समयको भोक,प्यास,त्याग,तपस्या,प्रलोभन बिरुद्ध लड्छ,जीवनमा आइपर्ने परिक्षाहरुसङ लड्ने शक्ति हासिल गर्छ र आफ्नु बर्षभरी गरिएका पापहरु पुन्यमा परिबर्तन गराइ आगमी दिनहरुमा सहि मार्गदर्शनमा हिड्न प्रेरणा दिलाउछ ।
इस्लाममा इदको दिन मात्र एउटा यस्तो दिन हो जुन उपबास बस्नको लागि अनुमानि छैन । इद पर्व विशेषगरी ३ दिन सम्म मनाइन्छ । इदको पहिलो दिन मुख्य इद र अरु दिन छोटे इद भन्ने गरिन्छ । अर्धचन्द्रमा आकासमा देखिएपछि इद सुरु हुन्छ । इदको दिन मुस्लिमहरु बिहान सुर्योदय भन्दा अगाडि उठेर सलाउतुल फजिर (दैनिक प्राथना) को नमाज पढ्ने गर्छन, त्यसपछी गुसल (बिधिवत स्नान) गरी, नया पहिरन र अत्तर लगाउने चलन छ । नयाँ कपडा नभएको खण्डमा आफूसङ भएको मध्य सबैभन्दा उत्तम र सफा कपडा लगाउनु उचित हुन्छ ।त्यसपछि एक जोडी खजुर या सेवाइ खाएर आफ्नु एक महिने लामो उपबास तोड्ने चलन छ । त्यसपछि इदगाह या आफ्नु गाउँ शहरको सबै भन्दा ठुलो  मस्जिदमा पुगेर इदुल फितर को सामुहिक नमाज पढ्ने गर्दछ्न । इदुल फित्रको नमाज इदगाहमा 
(इद्को नमाज पढ्न बनाइएको खुल्ला ठाउँ) पढ्नु सुन्नत मनिन्छ । इदगाहमा सबै नारी र पुरुष (अलग अलग समुहमा) साथै बच्चाहरु र यहाँसम्म कि पबित्र नभएका नारीहरुपनि इदगाह जान सक्छ, नमाज पढ्न सक्दैनन तर दुवा÷प्राथनामा सहभागी हुन सक्छन ।
इदुल फित्रको नमाज पश्चात एकआपसमा अन्कमाल  गरेर शुभकामना आदनप्रदान गर्ने गर्छन । साथै आफ्नु भन्दा ठुलाबडाको आशिर्वाद लिन आफन्तजनको घर जाने गरिन्छ । इदको दिन विशेषगरी सेवाइ लगायतका मिठाइ, बिर्यानी लगायतका परिकारहरु बनाउने गरिन्छ ।

आफ्नु  आफन्त नजिकका नातेदार तथा साना बालबलिकाहरुलाइ इदि लगायत अन्य उपहार पनि दिने चलन छ । यसरी इदको दिन ठूलो, सानो,धनी,गरिब सबै एकै ठाउँ बसेर एकै समय एकै साथ अल्लाहको प्राथना तथा नमाज पद्ने भएकोले आपसी भाइचारा,समानता र एकताको सन्देस पनि यस पवले दिन्छ । यसमा पैगम्बर मुहम्मद बताउनु हुन्छ “इद एकताको दिन हो,त्यसैले अल्लाह माथी बिश्वास कायम गर,उहाँको प्रसंशा  गर र धन्यवाद देउ, इदनै पहिलो दिन हो जुन दिन उज्यालोमा फेरि एकपटक खाने र पिउने अनुमति दिइन्छ“।

यसैगरी गरी इदुल फित्रको अर्को महतत्वपूर्ण पाटो भनेको जकात र सदकातुल फित्र निकाल्नु पनि हो  । जकातको अर्थ हुन्छ पवित्र गर्नु वा सुद्द बनाउनु हो । अर्थात् मुस्लिमहरु एक वर्षभरी कमाएको या बचत गरेको साढे सात तोला सुन, वा ५२ तोला चाँदी र त्यस बराबर चालू बजार भाउ अनुसार २.५प्रतिशत नगद वा जिन्सी दान गर्नु पर्ने विधान कुरानमा उल्लेख गरिएको छ ।

यो दायित्व पूरा गरेपछि मात्र आफ्नो सम्पति पवित्र हुने विश्वास गरिन्छ । जकात निकाल्दा कयामत (प्रलय) को दिन प्रकाशपुन्ज  हुने, आफ्नो सम्पति अल्लाहको संरक्षणमा रहने, त्यस्तै सम्पति वृद्धि हुने पनि विश्वास गरिन्छ । जकात नगद र जिन्सी समानहरुमा मात्र नभई घर पालुवा जनावर जस्तै बाख्रा,गाई,गोरु,भैंसी उट लगायत  अन्नको उब्बजनीमा माटोको क्षमताको हिसाबले समेत जकात निकाल्नु पर्छ।

यसरी जकात आयश्रोत नहुने गरिबहरूको पालनपोषणमा,आफै आर्जन गर्न नसक्ने नीसाहाराको सहायता, ऋण तिर्न असछयम ऋणीको कर्जा चुत्ता गर्ने,यात्रु हरु को खाना तथा यात्र खर्चमा , अल्लाह को मार्गमा र इस्लामिक शिक्षा दिने मद्रसा मस्जिद लगायत ,गरीब विधुवा हरुको हक जकात मा रहन्छ ।

 
इदुल फित्रको नमाजपुर्ब  प्रत्यक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँ वा सो सरह बराबरको नगद दान गर्नु सत्कार्य  फित्र हो । सो दान घरको मूल व्यक्तिले घरका सबै साना देखि ठूला पुरुष महिला लगायत  आमाको पेटमा रहेको बच्चाको पनि फित्रा निकाल्नु पर्छ । यसरी फित्र परिमाण जिन्सी मालमा खाध्यान्न को २.५ केजी मूल्य बराबरको पैसा गरिबहरू लाई बितरण गरी सक्नुपर्छ।
अल्लाहका सन्देस्टा मुहम्मद (स.) “सदका (दान) गर, यस्ले पापहरु यसरी मेटाइदिन्छ जसरी पानिले आगोलाइ निभाइदिन्छ । यस सद्काबाट रमजान महिनामा भएका सानातिना गल्ती हरु माफ हुने विश्वास गरिन्छ ।
इदुल फित्रको आफ्नै विशेषता, महत्व, नियमहरू रहेतापनि यो वर्ष पनि मुस्लिमहरुले विधिवत् रूपमा इद मनाउन पाउने छैनन । कोभिड १९ महामारीको दोस्रो लहर सङ लड्दै आएका नेपाली मुस्लिम समुदाय को यो पर्व गत बर्स जस्तै फरक ढङले मनाउनु पर्ने देखिन्छ । कोरोना माहामरी बाट सुरक्षित रहनकै लागि लागाइएको लकडाउन कारण मुस्लिम समुदाय यो बर्ष पनि सबै विधिहरु घर भित्रै गर्ने छ्न ।

यसरी मुस्लिम समुदाय पनि राज्यको आदेशको पूर्ण पालन गर्दै पवित्र महिना रमजानमा गरिने सम्पूर्ण  कार्यहरु, नमाज , इफतार, सेहेरि,तरावी नमाज ,जुम्मा, अल्बिदा जुम्मा एत्काफ  लगायतका सम्पुर्ण बिधिहरु  घरबाटै पूरा गरेका थिए र अब इदुल फित्रको नमाज र कार्य बिधिहरु पनि राज्यले दिएको आदेशको पूर्ण पालना गर्दै नेपाली मुस्लिमहरु आफ्नो खुसीको त्यागगरी जो जहां छ त्यही सामाजिक दूरी कायम गरेर नफिल नमाज अदा गर्ने  छन ।

ईस्लाम धर्मको उदय पश्चात् अब यो नै दोस्रो नमाज रहनेछ जो यसरी बन्दाबन्दीको बिच मस्जिद समेत लक गरी घरैमा नमाज (प्रार्थना) पद्नुपर्ने बाध्यता रहेको किनकि  गत साल पनि सम्पुर्ण मुस्लिम समुदाय यसरी नै इद मनायका थिए । यसमा अल्लाहका रसुल मुहम्मद (स)ले भन्नु हुन्छ“ यदि तिमीले कुनै पनि ठाउँ मा महामारी फैलिएको सुन्यौ भने त्यहाँ नजाऊ,यदि तिमी बसेको ठाँउमा महामारी फैलियो भने त्यस ठाउँ लाई छोडेर नजाऊ“। बुखरी ५७२८
तर्सथ कुनैपनि महामरी फैलन नदिनु आफू महामारी बाट बचेर आफ्नु परिवार र समाज लाई बचाउनु पनि धर्म हो।त्यसैले बिना निरासा हामीले रास्ट्रहितको लागि राज्यको आदेश को पालना गर्नु हाम्रो कर्तव्य हो । राज्यले हामीलाई व्यतिगत दूरी कायमगरी कोरोना प्रकोप नियन्त्रण गर्नु भनेको हो तसर्थ सामाजिक एकता र आपसी भाइचारा कायम गर्दै शुभकामना, आशीर्वाद,दुवा,प्रेम भने हामी अवस्य बाड्न सक्छौं । अहिलेको अवस्थामा जे सम्भव छ, त्यही र त्यस्तै  परिकारहरू, पुरानै र सफा लुगा लगाई इद हामी मनाउने छौं । आफ्नो हैसियत अनुसार गरीब दिन दुःखी लाई दान र अल्लाहसंग आज सम्म भएका हरेक पाप र गल्तीको लागि क्षमा याचना गरी, सत्मार्ग र सद्बुद्धिको लागि दुवा माग्नेछौ । यो कोरोना भाइरसको अन्त्य अबस्य छिटै हुनेछ र हामी सबै फेरि हाम्रो पुरानो दिनचर्यामा फर्कने छौ ं।
कोरोना रोगीहरुको लागि सिघ्र स्वास्थ लाभको कामना गर्दै सम्पूर्ण मानव जगत कोरोना भाइरस बाट सुरक्षित होस् भनी प्रार्थना गर्ने छौं । फेरि पनि सम्पूर्ण इस्लाम धर्मालम्बीहरु लाई इदुल फित्र को धेरैधेरै शुभकामना । 

 

इदुल फित्र, रमजान,  रोजा, उपसना