नुवाकोटमा असार १ सम्म निषेधाज्ञा लम्बिने

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ जेष्ठ २४, सोमबार


विदुर । नुवाकोटमा जारी निषेधाज्ञा असार १  गते राती १२ बजे सम्म लम्बिने भएको छ ।
 जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमणको फैलावट बढ्दो क्रममानै रहेकोले  निशेधाज्ञा लम्वाउन लागिएको हो । यसअघि जारी गरिएको निषेधाज्ञा मंगलबार  राति १२ बजेबाट सकिँदै छ । निशेधाज्ञाको समयमा कुनै पनि व्यक्ति वा सस्थाले कोरोना प्रभावितलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्न चाहेमा स्थानीय तहको सहमती लिनलाई जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आग्रह गरेको छ । बैठकले वितरण गरिएको सामाग्रकिो बारेमा स्थानीय प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलयमा दैनिक रुपमा विवरण उपलव्ध गराउन र ती कार्यको अनुगमन गर्न स्थानीय तहलाई आग्रह समेत गरेको छ । 

 


कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने नेपाली सेनाको सुरक्षा कर्मी तथा स्वास्थ्यकर्मीहरुको कोरोना परिक्षण निशुल्क गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रले त्रिशुली अस्पताललाई आग्रह समेत गरेको छ । 
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नुवाकोटमा गएको वैशाख २१ गतेदेखि निशेधाज्ञा गरिएको थियो । कोरोना भाइरस संक्रमित हुने दर निरन्तर बढिरहेकोले निशेधाज्ञाको समय पनि बढाइरहन परेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभएको छ ।