नयाँ भेरिएन्ट कति खतरनाक ? ‘डेल्टा’ भेरिएन्टको विकसित रुप ‘ए वाई १’ अर्थात् ‘डेल्टा प्लस’ नेपालमा पनि फेला

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ असार ८, मंगलबार

ए वाई १, डेल्टा प्लस, डा.समीरकुमार अधिकारी, भाइरस

नेपालमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखिएको छ । यो पछिल्लो डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप भएकाले पहिलेको भेरिएन्टसँग धेरै नजिक छ । यसलाई ‘ए वाई १’ वा डेल्टा प्लस भेरिएन्टको नाम दिइएको छ ।

यो भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत पाइएको छ ।यसको म्युटेसनको नाम ‘के४१७ एन’ हो । यसमा कोरोना भाइरसको पुरानो भेरिएन्टमा अलि परिवर्तन भएको छ । डेल्टा भेरिएन्ट नै विकसित भएर डेल्टा प्लस भेरिएन्ट बनेको हो । यो भेरिएन्टको भाइरस पहिलोभन्दा खतरनाक छ/छैनबारे अध्ययन सुरु भएको छ । ‘परीक्षणका लागि पठाएका ९ वटा नमुनामा थप उत्परिवर्तित ‘के४१७ एन’ म्युटेसन भेटिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘डेल्टा प्लसको नामले समेत जानिने यो नयाँ भेरिएन्टको म्युटेसन नेपाल, भारतसहित विश्वको १० भन्दा बढी मुलुकमा पुष्टि भइसकेको छ ।’

हाल जारी कोभिडको दोस्रो लहरमा धेरैजसो व्यक्ति डेल्टा (बी.१.६१७.२) भेरिएन्टबाट संक्रमित भएका थिए । वैशाख २६ देखि जेठ २० गतेसम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनामध्ये ४८ वटा नमुना जाँचका लागि संकलन गरिएको थियो । ती नमुनालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपालस्थित कार्यालय र दक्षिण एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) मा सिक्वेन्सिङका लागि जेठ २६ गते पठाइएको थियो ।

उक्त नमुनाको जिनोमिक सिक्वेन्सिङ (जिनोमिक पहिचान) गर्दा ४७ वटा नमुनामा डेल्टा भेरिएन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरिएन्ट (बी.१.१.७) पुष्टि भएको छ । ४७ वटा डेल्टा भेरिएन्ट पुष्टि भएको नमुनामध्ये ९ वटामा थप उत्परिवर्तित ‘के४१७ एन’ म्युटेसन भेटिएको हो ।

‘भाइरसको रूप परिवर्तन प्राकृतिक प्रक्रिया हो तर हामीले भाइरसको स्वरूपमा देखिएका परिवर्तनहरूका बारेमा डब्लूएचओको सहयोग र समन्वयमा नियमित रूपमा निगरानी गरिरहेका छौं,’ सहप्रवक्ता डा. अधिकारीले भने । कुनै पनि नयाँ भेरिएन्टसँग जुध्ने एउटा महत्त्वपूर्ण उपाय स्वास्थ्य सावधानी अपनाउनु रहेको औंल्याउँदै उनले भने, ‘मूल कारण संक्रमणको चेन हो । यसैले हामी मूल कारणलाई बुझ्ने र संक्रमणको चेन तोड्न सफल हुन्छौं भने हामी नियन्त्रण गर्न सक्षम हुन्छौं, चाहे त्यो कुनै पनि भेरिएन्ट होस् ।’

हालसम्म डेल्टा प्लस भेरिएन्ट कति खतरनाक हो/होइन भन्नेबारे विस्तृत अध्ययन चलिरहेको स्वास्थ्य अधिकारीले जनाएका छन् । नयाँदिल्लीस्थित द इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) का वैज्ञानिक विनोद स्कारियाले जुन १३ मा ट्वीट गर्दै कोभिड भाइरसको स्पाइक प्रोटिनमा म्युटेसनले गर्दा डेल्टा प्लस भेरिएन्ट देखिएको जानकारी दिएका थिए । उनका अनुसार यो भेरिएन्टले मोनोक्लोनल एन्टिबडीको प्रतिरोध गर्न सक्छ ।

आईजीआईबीकै वैज्ञानिक बानी जौली जुन १४ तारिखमा ट्वीटमार्फत की ‘डेल्टा’ को केही अनुक्रममा ‘के४१७ एन’ म्युटेसन देखिएको जनाएकी थिइन् । हालसम्म करिब १० मुलुकमा भाइरसमा यस प्रकारको परिवर्तनको जानकारी पाइएको छ ।

भारत सरकारको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा १६ जुनमा जारी प्रेस विज्ञप्तिअनुसार नयाँ पाइएको डेल्टा प्लस भेरिएन्टलाई हालसम्म खतरनाक भेरिएन्टका रूपमा वर्गीकृत गरिएको छैन । नीति आयोगका सदस्य डा.बीके पाललाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म डेल्टा प्लसलाई भेरिएन्ट अफ इन्टरेस्ट र भेरिएन्ट अफ कन्सर्नका रूपमा वर्गीकृत गरिएको छैन ।’

तर यो भेरिएन्टमा नियमित निगरानी गर्नुपर्ने आवश्यकता रहेको जनाउँदै डा.पालले यसको सम्भावित उपस्थिति, विकासको आकलन व्यवहारलाई सम्झेर उचित निगरानी गर्नुपर्ने बताएका थिए । डा.पालका अनुसार भाइरस शरीरको कोषिकासँग जुध्ने माध्यम ‘स्पाइक प्रोटिन’, पछिल्लो भेरिएन्टको दाँजोमा डेल्टा प्लस भेरिएन्टमा ‘स्मार्ट’ हुन्छ भने यो हाम्रा लागि खतरनाक हो, यसैले हामी यस्तो भेरिएन्टबाट चिन्तित रहेका छौं ।

नेपालमा पछिल्लो समय डेल्टा प्लससहित हालसम्म ‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट तथा भेरिएन्ट अफ इन्टरेस्टका रूपमा कप्पा भेरिएन्ट (बी.१.६१७.१) पुष्टि भएको छ । डा.अधिकारीका अनुसार यी भेरिएन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनबाट देखिएको छ । कान्तिपुरबाट