बागमती प्रदेश सभा बैठक आज दिउसो २ बजे बस्दै

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र १, मंगलबार

बागमती प्रदेश, प्रदेशसभा

बागमती प्रदेश सभा बैठक आज भदौ १ गते दिउसो २ बजे बस्दै छ । लामो समयदेखि स्थगित रहेको बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 
चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि मंगलबारका लागि आह्वान गरिएको हो ।
यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनिश्चित कालका लागि बैठक स्थगित गरेका थिए । सो बैठकमा उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित गरिएको थियो ।  
प्रदेशसभा बैठक बस्नु अघि हिजो सोमबार कार्य अपराह्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो । बैठकमा आज हुने प्रदेशसभाको कार्यसूची, बैठकमा पेस हुने विधेयकका बारेमा छलफल भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभएको छ । 
बैठकमा प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेताहरूले प्रदेशसभा नियमावली संशोधनका बारेमा भने सर्वदलीय बैठक आह्वान गरी सहमति गरेर मात्र संसद्मा छलफल गर्नु पर्ने धारणा राखेका थिए ।
त्यस्तै उक्त बैठकमा प्रदेशसभाको लोगोका बारेमा पनि छलफल भएको र आगामी केही समयभित्रै प्रदेशसभाका सदस्यहरूलाई लोगो उपलब्ध गराउने गरी तयारी भइरहेको उहाँले बताउनुभएको छ ।