फोहोरको लागी सिसडोलबासीसंग ९ बुँदे सहमती

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ भाद्र १६, बुधबार

फोहोर, सिसडोलबासी, काठमाडौं महानगरपालिका,

नुवाकोटको सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीचको ९ बुँदे सहमती पछि काठमाडौको फोहोर उठ्न थालेको छ । सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिमा सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने उल्लेख गरिएको छ । 
साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख गरिएको छ । 
तर, यस्ता किसिमका अनेकौ सम्झौताहरु यसअघिका दिनहरुमा पनि भएकोमा कार्यान्वयन भने नभएकोमा सिसडोलबासी बेलाबेलामा आन्दोलित हुँदै आएका छन् ।  काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनिरहेको छ ।   
९ बुँदे सहमतिसँगै बुधबारदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान छ । करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।