मन्त्रालय थपिदा बागमती प्रदेशमा पूर्वाधार र कर्मचारी अभाव

नुवाकोट न्यूज
नुवाकोट न्यूज

२०७८ पौष २, शुक्रबार

बागमती प्रदेश, मुख्यमन्त्री, राजेन्द्र पाण्डे,  सत्ता गठबन्धन

सत्ता गठबन्धनलाई भाग पु¥याउन मन्त्रालय फुटाउदा बागमती प्रदेशमा कर्मचारी अभाव भएको छ । सरकारले मन्त्रालयका संख्या बढाउँदा पूर्वाधार र कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव भएकाले एक जनाले दुई मन्त्रालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनलाई भाग पु¥याउन ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाउनुभएको छ । 
मन्त्रालयको संख्या थपिएपछि सरकारलाई पूर्वाधार व्यवस्थापनको चटारो परेको छ । यद्यपि सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी पुराना सरकारी भवन मर्मतसम्भार गरेर र मौजुदा जनशक्ति प्रयोग गरेर मन्त्रालय सन्चालनको तयारी भैरहेको बताईएको छ । 
थपिएका मन्त्रालयहरुमा कर्मचारीहरुको पनि अभाव रहेको छ । तत्काललाई मौजुदा जनशक्तिबाटै काम चलाउने गरी कर्मचारीहरुको व्यवस्था गरिएको छ । संघबाट कर्मचारी आउन समय लाग्ने भएकाले एउटा कर्मचारीले दुईवटा मन्त्रालय हेर्नुपर्ने अवस्था आएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
मन्त्रालयका कर्मचारी र बजेट व्यवस्थापन बिस्तारै मिलाउदै लैैजाने गरी एकै कर्मचारीले २ वटा मन्त्रालयको काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ । प्रदेश सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी मन्त्रालय सञ्चालनको तयारी भइरहेको मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले बताउनुभएको छ । उहाँका अनुशार नवनियुक्त मन्त्रीहरुलाई नयाँ गाडी खरिद नगरी अहिले पुरानै गाडी उपलब्ध गराइएको छ  ।
तीन दिनभित्र मन्त्रीहरु आउने भएपछि  क्रममा तत्कालीन जिल्ला विकास समितिले प्रयोग गरेको भवनको फुटेको र चर्केका ठाउँ टालेर रंगरोगन गर्ने काम चलिरहेको एक अधिकारीले बताउनुभएको छ ।  
उक्त भवन काम नलाग्ने भन्दै भत्काउने तयारी गरिएको थियो । तर अहिले भत्काउने ठेक्का रद्ध गरेर सोही भवनलाई मर्मत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्ने तयारी गरिएको छ । मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुइँटेलका अनुशार पुरानो जीर्ण भवन भएको ठाउँमा नयाँ बनाउन डिपीआर तयार गरी बजेट समेत छुट्याइसकेको थियो तर अहिले पूर्वाधार अभाव भएकाले एउटा मन्त्रालय राखी खर्च कम गर्ने नीतिअनुसार त्यसैमा व्यवस्थापन गर्न लागिएको बताउनुभएको छ । 
प्रदेश सरकारले थपेका पाँच मन्त्रालयहरुमध्ये श्रम, रोजगार तथा यातायात, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय तत्कालीन श्रम कार्यालयले निर्माण गरेको भवनमा राखिएको छ । युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय भने भाडाको घरबाट सञ्चालन भैरहेको छ ।