ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको रौनक सुरु 

प्रभा ढुङ्गाना
प्रभा ढुङ्गाना

२०७८ पौष २, शुक्रबार

दुप्चेश्वर महादेव मन्दिर, दुप्चेश्वर गाँउपालिका,  दर्शनार्थी

नुवाकोट जिल्लाको मात्र नभएर मुलुकको लागि नै ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक सुरु सुरु भएको छ । विशेषगरी अघिल्लो दिनदेखि पूर्णिमाको दिन लाग्ने मेलामा भक्तजनहरुले अहिलेदेखि नै पूजाआरधना गर्ने तथा भगवान शिव महादेव प्रतिको अस्थाभाव प्रकट गर्न सुरु गरिसकेका छन् । 
नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नंं ६ राउतवेशी स्थित तादी नदीको परिसरमा रहेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको मेला तथा पूजाआरधना गर्नेहरुको चहल पहल उत्साहपूर्ण बन्दै गएको छ । 
भगवान महादेवको पूजा आरधना गर्न तथा भगावनको समर्पणमा राखेको भाकल पूरा गर्न नुवाकोट सहित मुलुकको विभिन्न स्थानबाट भक्तजनहरु दुप्चेश्वर महादेवको मन्दिरमा आउनेको सङ्ख्या उल्लेख भएको दुप्चेश्वर गाँउपालिकाले जनाएको छ ।
सन्तान प्राप्ती र त्यसमा पनि पुत्र नै लाभ दिने भगवानको रुपमा रहनुभएका दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने सबैभन्दा ठूलो पर्वको रुपमा लाग्ने धान्य पूर्णिमाको मेलाको रौनक विभिन्न स्थानबाट भक्तजनहरुको आगमनले अहिलेदेखि नै रौनकता छाउन सुरु गरेको छ । 
मानिसहरुलाई सन्तानमा पुत्र नै दिने, बालबालिकको बोली नफुटेनमा बोली फुट्ने, गाँई भैसी लगायतका चौपायहरु नभ्याएमा भगवानको स्थानमा दाम्लो चढाएमा गर्भाधान हुने लगायतका जे मनकामना माग्यो त्यो सबै पूरा हुने जनविश्वासमा भक्तजनहरु मुलुकको विभिन्न स्थानबाट आउने गरेको दुप्चेश्वर मन्दिरको पूजारी समेत रहनुभएका समुन्द्रटारका पण्डित भगवानहरी धितालले बताउनुभएको छ । 
स्थानीय बासे तामाङको गाई तादी नदी किनारको छेउको भिरमा पुगेर बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनहरुले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पछिल्लो दुई सय वर्ष देखि पुज्दै आएका छन् । 
सर्बसाधारणले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रुपमा विश्वास गर्दै नुवाकोट, रसुवा धादिङ, काठमाडौ हुदै नेपाल तथा भारत लगायतका राष्ट्रबाट समेत भक्तजनहरु दुप्चेश्वर महादेवको मन्दिरमा पूजा आरधना गर्न आउने गरेको मन्दिरका पूजारी धितालले बताउनुभएको छ ।  
समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेबनपछि छट्पटाउनुभएका श्रीमहादेव शिव पशुपतिनाथ मन्दिर हुदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाईकुण्ड गएको किम्वदन्तीको रुपमा समेत दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रुपमा भक्तजनहरुले पूज्ने गरेका छन् । 
मेलाको विशेष रौनक चतुदर्शी र पूर्णिमाको दिन हुने भएपनि एकादशी देखि नै मुलुकको विभिन्न स्थानबाट भक्तजनहरु दर्शन गर्न उल्लेख्य रुपमा उपस्थित भइरहेका छन् ।  
यस वर्ष दुप्चेश्वर क्षेत्र विकास कोषले दर्शनार्थीको सवारी पार्किङ शुल्क नलिने बताएको छ । सवारीको सहज आवागमनका लागि कोषले प्रहरी र स्वयम् सेवकको व्यवस्था गरेको बताएको छ । 
त्यसैगरी सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करीब ६० जना सुरक्षाकर्मी मेलामा खटिने भएका छन् । त्यसैगरी स्थानिय २५ जना स्वयम्सेवक युवाहरु दर्शनार्थीको लाम व्यवस्थापनमा खटिएका छन् ।
दुप्चेश्वर, करीब २ सय मिटर अग्लो विशाल शिलाको बिचोबिच अर्ध वृत्ताकार भागको केन्द्रमा अवस्थित प्राकृतिक शिवलिंग हो । जनश्रुति अनुसार करीब साढे चार सय वर्ष अघि यसै समयमा पत्ता लागेको दुप्चेश्वरमा त्यसयता धान्यपूर्णिमामा मेला लाग्ने गरेको मन्दिरका पुजारी भगवानहरि धितालले बताउनुभउको छ । 
बाटाको  सुगमताका कारण पछिल्लाा वर्षहरुमा दुप्चेश्वरमा बाह्रै मास दर्शनार्थीको भिड लाग्ने गरेको छ । खास गरेर ऋषि पञ्चमी, ठूलो एकादशी, शिवरात्री, बालाचतुर्दशी जस्ता पर्व र मंसिर एवं साउनको सोमबार र शनिवार दुप्चेश्वरमा दर्शनार्थीको निकै भिड लाग्ने गरेको छ । 

दुप्चेश्वर महादेव मन्दिर, दुप्चेश्वर गाँउपालिका,  दर्शनार्थी

मेलालाई लक्षित गरेर दुप्चेश्वर भन्दा तलको गोगनचउर भरिभराउ भएको छ । धार्मिक अनुष्ठानदेखी, स्वास्थ्य सिविर र व्यापारिक स्टलहरुले गोगनचउर भरिएको छ । यसबाहेक मुख्य द्वारदेखी मन्दिरसम्म जाँदा र फर्कँदा दर्शनार्थीले भक्ति संगीत सुन्ने प्रवन्ध समेत मिलाइएको छ । त्यसका लागि मुख्य गेटदेखीनै दुप्चेश्वर परिसरका हरेक कुना कुनामा साउण्ड सिस्टम फिट गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले बताउनुभएको छ । 
गाउँपालिकासँगको समन्वयमा रामती बजारदेखी मन्दिरसम्म बाटैभरी सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ । उक्त सीसीटीभीको मनिटर गाउँपालिकामा राखिएको छ । दर्शनार्थीको सुरक्षा र सहज ढंगबाट दर्शन गर्ने व्यवस्था दुप्चेश्वर गाउँपालिकाको दायित्व भएको दुप्चेश्वर गाउँपालिकाकाको भएकाल दर्शनार्थीको सुरक्षाकै लागि सीसीटीभीको व्यवस्था गरिएको उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभएको छ । 

You may also like: