बिदेश जानेहरुका लागी आप्रवासी श्रोत केन्द्र नुवाकोट प्रभावकारी बन्दै

पार्वती बिश्वकर्मा
पार्वती बिश्वकर्मा

२०७८ पौष ८, विहिबार

आप्रवासी श्रोत केन्द्र , वेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, शिवपुरी गाउँपालिका

 
वैदेशिक रोजगराीमा गएका नागरिकहरुले सम्झौता अनुसारको काम नपाएकोे भन्दै आप्रवासी श्रोत केन्द्र नुवाकोटमा गुनासो गर्ने गरेका छन् ।
सुरक्षित वैदेशिक रोजगारका विषयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको मंसिरसम्ममा १९ वटा प्राप्त गुनासोहरु मध्ये १२ वटा सम्झौता अनुसारको काम नपाएकोे भन्ने रहेको जानकारी गराइएको छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन नेपाल सरकार र स्वीस सरकारको सहयोगमा जिल्लाको विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा स्थानीय तहको सहयोगमा सामी परियोजना सञ्चालन भइरहेको छ । 
तर आप्रवासी श्रोत केन्द्रमा जिल्लाभरबाट वैदेशिक रोजगारमा गएकाहरुले गुनासो गर्न पाउने छन् । चालु आर्थिक वर्षको मंसिरसम्ममा १२ जनाले सम्झौता अनुसारको काम नपाएकोे, २ जना जेल परेको, १ जनाको वैदेशिक रोजगारकै क्रममा मृत्यु भएको, २ जना सम्पर्क विहिन भएको र २ जनामा मेडिकल सम्वन्धी समस्या भएको भन्ने जानकारी आप्रवासी श्रोत केन्द्रलाई प्राप्त भएको परियोजनाका कार्यक्रम संयोजक नीरु सूचिकारले जानकारी दिनुभएको छ ।
परियोजनाले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श दिने, वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरुलाई मनोपरामर्श दिने, वितिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने लगायतका कामहरु गर्दै आइरहेको कार्यक्रम संयोजक सूचिकारले बताउनुभएको छ । 
अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्नुहुदै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सिप सिकेर मात्र वैदेशिक रोजगारमा जानको लागि आग्रह गर्नुभएको छ । वैदेशि रोजगारीमा जान छाडेर आफ्नै स्थानीय स्तरमा युवाहरुलाई स्वरोजगार बनाउनलाई नगरपालिकाले निति तथा कार्यक्रम मार्फत प्रोत्साहनका गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभएको छ । 
नेपाली समाजको वाध्यात्मक परिस्थिति वैदेशिक रोजगारी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले वैदेशिक रोजगारको नाममा नेपालीले नेपालीलाई नै ठगि गर्ने प्रवृति रहेको बताउनुभएको छ । वैदेशिक रोजगारीबाट प्राप्त रकम उत्पादन हुने क्षेत्रमा लगानी र वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सिपको सहि रुपमा सदुपयोग गर्नलाई प्रमुख प्रशासकीय अधिकृत मरासिनीले आग्रह गर्नुभएको छ । 

 

आप्रवासी श्रोत केन्द्र , वेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, शिवपुरी गाउँपालिका

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं अधिवक्ता नवदीप श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी केही कानुनी तथा वैदेशिक रोजगारीको सवालमा सञ्चारकर्मीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । स्वदेशमा नै रोजगारीको सिर्जना गराउने वातावरण बनाउन प्रेरित गराउने समाचारलाई प्राथमिकता दिन सकियो भने वैदेशिक रोजगारीको कारण पारिवारिक रुपमा आइपर्ने विखण्डनमा न्यूनिकरण हुने अधिवक्ता एवं पत्रकार श्रेष्ठको भनाई छ । 
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका सेवाग्राहीहरुलाई सुरक्षित वैदेशिक रोजगारको विषयमा  प्रयाप्त मात्रमा सूचना र जानकारी गराउने गरेको छ । नुवाकोटबाट राहदानी बनाउने मध्ये  महिला ३६ प्रतिसत र पुरुष ६४ प्रतिसत रहेका छन् । वागमती प्रदेशको जिल्लाहरु मध्येबाट वैदेशिक रोजगारमा जाने महिलाहरुको अनुपात अनुसार  सिन्धुपाल्चोक पहिलो, काभ्रेपलाञ्चोक दोश्रो र नुवाकोट तेश्रो स्थानमा पर्ने सामी परियोजनाले जनाएको छ ।